वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व


काठमाडौं ।

वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले निर्धारण गरेको २६ अर्ब ४६ करोड रुपैयाँको लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।

प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार असोजमा इन्धन आयातबाट दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ । यस्तै, खाना पकाउने एलपीजी ग्यासको आयातबाट एक अर्ब ८० करोड, अलकत्रा (बिटुमिन) बाट एक अर्ब ४० करोड तथा स्याउ र नास्पाति आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ ।

चाडपर्वका समयमा आयात तथा व्यापारिक गतिविधि बढ्दा असोज महिनामा भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो ।