काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट असोज महिनामा करिब १ खर्ब रुपैयाँ बजारमा प्रवाह भएको छ। दसैं–तिहारलाई लक्षित गरी नयाँ तथा सुकिला नोट वितरण गरिएसँगै चलनचल्तीमा रहेको मुद्रा बढेर ८ खर्ब ९८ अर्ब २५ करोड रुपैयाँ पुगेको हो।
राष्ट्र बैंकका अनुसार असोज १ देखि ३० गतेसम्म १६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरिएको छ। यसमध्ये १२ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामार्फत र ४ अर्ब रुपैयाँ सर्वसाधारणलाई वितरण गरिएको हो।
गत वर्षको असोजमा चलनचल्तीमा रहेको मुद्रा ७ खर्ब ८६ अर्ब रुपैयाँ थियो। यस वर्ष एकै महिनामा नगद प्रवाह बढ्दा बजारमा मुद्रा आपूर्ति बढेको छ।
चाडपर्वमा नगदको माग बढ्ने भए पनि डिजिटल बैंकिङको विस्तारले नयाँ नोटप्रतिको निर्भरता घटाउन थालेको छ। राष्ट्र बैंकले नोट छपाइ, वितरण तथा व्यवस्थापनमा वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च गर्दै आएको छ। नगद प्रवाह बढ्दा बजारमा माग र मूल्यवृद्धिमा दबाब पर्न सक्ने भएकाले मुद्रा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।











प्रतिक्रिया