उदयपुर ।
तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उदयपुरको गाईघाटमा आर्थिक वर्ष २०५१÷ ०५२मा शिलान्यास गरेको सगरमाथा लोकमार्ग निर्माण प्रारम्भ भएको ३२ वर्ष भए पनि निर्माण सम्पन्न हुन अझै कति समय लाग्ने हो कुनै टुंगो छैन ।

शिलान्यास पश्चात गाईघाट दिक्तेल सडक योजनाको कार्यालय गाईघाटमा स्थापना भएर आ.ब २०५१÷ ०५२ देखि सडकको ट्र्याक खोल्न शुरु भएकोमा आ.ब.०७२÷०७३ मा मात्र २१ वर्षपछि ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । ट्र्याक खोल्ने काम सकिएपछि सडक स्तरोन्नति गर्न मै दस वर्षभन्दा बढी समय लागेको छ ।
गाईघाट दिक्तेल सडक योजनाका अनुसार निर्माण व्यवसायीको ढिलासुस्ती, सडक निर्माणको सम्झौता गरेर काम नगर्ने, भुक्तानी लिएर भाग्ने, तोकिएको म्याद प्रति वेवास्ता गर्ने, सडक योजनाले दिएको निर्देशन पालना नगर्ने, मापदण्ड अनुसार तथा सम्झौता अनुसार काम नगर्ने जस्ता कारणले गर्दा सडक निर्माण, स्तरोन्नति, ग्राभल गर्ने कालोपत्रे गर्नै लगायतका काम समयमा सम्पन्न नभएको हो ।
गाईघाट दिक्तेल सडक योजनाले पहिले गाईघाटदेखि दिक्तेल हुँदै सगरमाथा अर्थात् सोलुखुम्बुसम्मको सडक निर्माण गर्ने उद्देश्यले सप्तरीको हालको सुरुङ्गा नगरपालिकाको कदमाहादेखि गाईघाटसम्मको राजमार्गलाई सगरमाथा राजमार्ग नामाकरण गरेर निर्माण कार्य शुर गरेकोमा पछि खोटाङको माहुरेदेखि दिक्तेल बजारसम्मको १४ किलोमिटर सडकको काम मध्यपहाडी लोकमार्गले जिम्मा लिएपछि गाईघाटदेखि माहुरेसम्मको १०१ किलो मिटर सडकको काम गाईघाट दिक्तेल सडक योजनाले गर्दै आएको हो ।
गाईघाट दिक्तेल सडक योजनाका सूचना अधिकारी तथा इन्जिनियर सुमन गोलेका अनुसार हालसम्म १०१ किमि मध्ये ३७ किलोमिटर कालो पत्रे भएको छ भने ५४ किलोमिटर ग्राभेल सडक छ । अब कुल ६४ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । बहुवर्षिय ठेक्का मार्फत काम भैरहेकोले आर्थिक वर्ष ०८४÷०८५ सम्म योजना कार्यालयको म्याद रहेकोले सो अवधिभित्र सबै सडक कालोपत्रे गरिसक्ने योजना अनुसार काम भैरहेको छ ।
गाईघाट दिक्तेल सडक योजना कार्यालय आ.ब. २०६१÷०६२मा लाहानस्थित डिभिजन सडक कार्यालयमा गाभिएकोमा आर्थिक वर्ष २०६५÷०६६ देखि पुनः गाईघाट मै स्थापना भएर सडकको काम निरन्तर भैरहेको छ । निर्माण व्यवसायीका कारण सडक समयमा निर्माण सम्पन्न हुन नसकेको र समयमा काम नगर्ने तीन निर्माण व्यवसायीलाई कालो सुचीमा राखेर कार्वाही गरिएको सडक योजनाले जनाएको छ ।
गाईघाट दिक्तेल सडक योजनाका योजना प्रमुख डिई विवेक पाण्डेका अनुसार हालसम्म यस योजनाको काम ३० प्रतिशत सम्पन्न भएको छ । शुरुमा लागेको निर्माण कम्पनिले काम नगरेपछि ठेक्का तोडेर पुनः ठेक्का लगाएर काम अघि बढाइएको हो । हाल दिव्य ज्योती निर्माण कम्पनि र रायमाझी निर्माण कम्पनिले ठेक्का लिएर काम गरिरहेकोमा ३ वर्षको ठेक्का समभलौता भएकोमा अब १ वर्ष ६ महिना समय बाँकी रहेकोले सो अवधिभित्रमा काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई भनिएको डिई पाण्डेले बताउनु भयो ।
सडक योजनाका इन्जिनियर रिकेश महर्जनका अनुसार चालु आर्थिक वर्षमा चारवटा ठेक्काको काम भैरहेको छ । खोटाङको राजापानी सिम्पानी ७८.९ किमीदेखि माहुरेको १०१ किमीसम्म रायमाझी निर्माण कम्पनिले ४४ करोड २३ लाख ८१ हजारमा २०८१ माघ ३ गते ठेक्का सम्झौता भएर काम भैरहेको छ भने म्याद २०८४ माघ २ गतेसम्म रहेका इन्जिनियर महर्जनले बताउनु भयो ।
यसैगरी ५२ंंंंं.५०० को फोक्सिङटारदेखि ७८.९०० खोटाङको खोटेहाङ ९ राजापानीसम्मको ठेक्का दिव्यज्योती निर्माण कम्पनि धादिङले ४२ करोड १३ लाख ७६ हजारमा २०८१ चैत्र १७ गते सम्झौता गरेर लिएको र यसको अन्तिम म्याद २०८४ चैत्र १६ गतेसम्म रहेको इनिजनियर महर्जनले बताउनु भयो ।
साउनेको दियाले देखि (२०ं.४००) फोक्सिङटारसम्मको ३२ किलोमिटर सडक कञ्चनजंगा गोल्डेनगुड जेभी शान्तिनगर काठमाण्डौले २०७३ कार्तिक १२ गते ३१ करोड ९४ लाख ८५ हजारमा २०८३ असोज २१ सम्ममा काम सम्पन्न गर्ने गरी बहुवर्षिय ठेक्का लिएकोमा म्याद सकिएकोले म्याद थपकालागि प्रक्रिया अघि बढेको इन्जिनियर महर्जनले बताउनु भयो ।
अर्को ठेक्का जिएससी पुकार जेभीले ७ सयदेखि ५१ किमीसम्मको ६ करोड ४५ लाख३९ हजारमा २०८१ असोज १३मा सम्झौता भएको र २०८३ कार्तिक ३० गतेसम्ममा काम सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख भएको योजनाले जनाएको छ ।











प्रतिक्रिया