उदयपुर ।
उदयपुरमा कटारी र बेल्टार क्षेत्रबाट प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम गाँजा बरामद गरेको छ ।
उदयपुरको कटारी नगरपालिका र चौदण्डीगढी नगरपालिका क्षेत्रबाट गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक सहित गाँजा बोकेको बोलेरो पनि बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार बिहानसम्म कटारी नगरपालिका– ६ स्थित साँगुरी पुलनजिकैको जंगल र चौदण्डीगढी नगरपालिका– १ चारघरेबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईले बताउनु भयो । । प्रमुख एसपी चापागाईंका अनुसार असोज २५ गते राति करिब १०ः२० बजे कटारी नगरपालिका– ६ स्थित साँगुरी पुल नजिकैको जंगलबाट पाँचवटा बोरामा राखिएको एक सय केजी गाँजा बरामद गरिएको छ ।
तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा ताप्ली गाउँपालिका– २ का करिब २२ वर्षीय विश्वराज राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उहाँका अनुसार त्यस्तै, असोज २६ गते बिहान करिब २ बजे चौदण्डीगढी नगरपालिका– १, चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डमा पार्किङ गरेर राखिएको बा.१४च २२५५ नम्बरको बोलेरोबाट २९ वटा बोरामा रहेको ९४० केजी ४४० ग्राम गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले गाँजासहित बोलेरो नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार दुवै स्थानबाट बरामद गाँजाको कुल तौल एक हजार ४० केजी ४४० ग्राम छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । बोलेरोबाट गाँजा बरामद भएको घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया