काठमाडौं ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्यु र चोटपटक कम्तीमा ५० प्रतिशत घटाउने विश्वव्यापी लक्ष्य हासिल गर्न दक्षिण–पूर्वी एसियाली क्षेत्रका सदस्य राष्ट्रलाई सडक सुरक्षा उपाय प्रभावकारी बनाउन आह्वान गरेको छ ।
डब्लुएचओका अनुसार सन् २०२१ मा विश्वभर सडक दुर्घटनामा अनुमानित ११ लाख ९० हजार जनाको मृत्यु भएको थियो । तीमध्ये दक्षिण–पूर्वी एसियाली क्षेत्रमा मात्रै करिब तीन लाख ३० हजार जनाले ज्यान गुमाएका थिए । यो संख्या विश्वभर सडक दुर्घटनाबाट भएको कुल मृत्युको २८ प्रतिशत हो ।
सडक दुर्घटना पाँचदेखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाको मृत्युको प्रमुख कारण बनेको छ । तर सन् २०१० देखि २०२१ सम्म दक्षिण–पूर्वी एसियाली क्षेत्रमा सडक दुर्घटनाबाट हुने अनुमानित मृत्युमा केवल दुई प्रतिशतले कमी आएको छ । सोही अवधिमा विश्वव्यापी रूपमा यस्तो मृत्यु पाँच प्रतिशतले घटेको डब्लुएचओले जनाएको छ ।
दक्षिण–पूर्वी एसियाली क्षेत्रका लागि डब्लुएचओका अधिकारी डा. निलेश बुद्धले सडक दुर्घटनाबाट हुने मृत्यु र चोटपटकले व्यक्ति, परिवार तथा समुदायमा गम्भीर असर पार्ने बताउनुभयो । उहाँले प्रमाणमा आधारित उपाय, प्रभावकारी नेतृत्व, लगानी र जवाफदेहितामार्फत धेरै दुर्घटना तथा त्यसबाट हुने क्षति रोक्न सकिने उल्लेख गर्नुभयो ।
‘दक्षिण–पूर्वी एसियाली क्षेत्रमा सुरक्षित आवागमन’ विषयमा आयोजित सडक सुरक्षा क्षेत्रीय बैठकको उद्घाटन गर्दै उहाँले सन् २०३० को लक्ष्य हासिल गर्न प्रतिबद्धतालाई निरन्तर र प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । तीन दिनसम्म सञ्चालन हुने उक्त बैठकमा स्वास्थ्य तथा यातायात मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय सडक सुरक्षा निकाय, ट्राफिक प्रहरी, विज्ञ, संयुक्त राष्ट्रसंघ तथा विकास साझेदार संस्था, गैरसरकारी संस्था र युवा प्रतिनिधिहरू सहभागी छन् ।
बैठक संयुक्त राष्ट्रसंघले सन् २०२६ जुलाईमा आयोजना गरेको विश्व सडक सुरक्षा सुधारसम्बन्धी उच्चस्तरीय बैठकपछि आयोजना गरिएको हो । उक्त बैठकले सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्यु तथा चोटपटक कम्तीमा ५० प्रतिशत घटाउने लक्ष्यलाई पुनः पुष्टि गर्दै प्रभावकारी नेतृत्व, विश्वसनीय तथ्यांक, सुरक्षित सडक तथा सवारीसाधन, दुर्घटनापछिको उपचार सेवा र पर्याप्त वित्तीय स्रोत सुनिश्चित गर्न आह्वान गरेको थियो ।
डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एसियाली क्षेत्रमा सडक दुर्घटनाबाट हुने मृत्युको ४६ प्रतिशत हिस्सा मोटरयुक्त दुई तथा तीनपाङ्ग्रे सवारीसाधनका चालक तथा यात्रुको छ । पैदलयात्री र साइकल चालकसमेत जोड्दा यी जोखिममा रहेका सडक प्रयोगकर्ताको हिस्सा कुल रिपोर्ट गरिएका मृत्युमध्ये करिब दुईतिहाइ पुग्छ ।
यसले मोटरसाइकल तथा स्कुटर चालक, तीनपाङ्ग्रे सवारी प्रयोगकर्ता, पैदलयात्री र साइकल चालकको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखाएको छ । सडक सुरक्षाका लागि सबै सडक प्रयोगकर्तालाई संरक्षण गर्ने प्रणाली आवश्यक रहेको डा. बुद्धले बताउनुभयो । उहाँका अनुसार सुरक्षित सडक तथा सवारीसाधनको डिजाइन, सवारी गति व्यवस्थापन, प्रभावकारी कानुन तथा त्यसको कार्यान्वयन, सार्वजनिक यातायातमा सहज पहुँच र पैदलयात्रा तथा साइकलका लागि सुरक्षित पूर्वाधार निर्माणमा जोड दिनुपर्छ ।
‘विद्यालय जाने बालबालिका, सडक पार गर्ने अपाङ्गता भएका व्यक्ति र काममा जाने मोटरसाइकल चालक सबैलाई सुरक्षित सडक आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘सडक, सवारीसाधन र यातायात प्रणालीको डिजाइनमै सुरक्षालाई प्राथमिकता दिनुपर्छ, ताकि सडक प्रयोग गर्ने सबैको संरक्षण गर्न सकियोस् ।’ बैठकमा राष्ट्रिय सडक सुरक्षा निकायको क्षमता सुदृढ गर्ने, स्वास्थ्य, यातायात, प्रहरी, पूर्वाधार तथा नियामक निकायबीच जिम्मेवारी स्पष्ट पार्ने र स्वास्थ्य, प्रहरी तथा यातायात क्षेत्रका तथ्यांकलाई एकीकृत तथा समन्वय गर्ने विषयमा छलफल हुनेछ ।
त्यसैगरी प्रमाणमा आधारित सडक सुरक्षा कानुन निर्माण तथा कार्यान्वयन, दिगो आन्तरिक वित्तीय स्रोतको व्यवस्था र दुर्घटनापछि उपलब्ध गराइने आकस्मिक उपचार, ट्रमा सेवा तथा पुनःस्थापना सेवालाई प्रभावकारी बनाउने विषय पनि बैठकको प्राथमिकतामा छन् । सडक सुरक्षा साझा जिम्मेवारी भएको उल्लेख गर्दै डा. बुद्धले प्रभावकारी समन्वयका लागि अधिकार र स्रोतसाधनसहितका नेतृत्वदायी निकाय आवश्यक रहेको बताउनुभयो । निर्णय प्रक्रियालाई प्रमाणमा आधारित बनाउन भरपर्दो तथ्यांक र प्रभावकारी उपाय कार्यान्वयन गर्न दिगो वित्तीय स्रोत आवश्यक पर्ने उहाँको भनाइ छ ।
उहाँले सडक सुरक्षामा गरिने लगानीले स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, समानता तथा दिगो विकासमा समेत सकारात्मक योगदान पु¥याउने उल्लेख गर्नुभयो । बैठकले क्षेत्रीय तथा विश्वव्यापी प्रतिबद्धतालाई देशस्तरीय संयुक्त कार्ययोजनामा रूपान्तरण गर्ने विषयमा जोड दिनेछ । यसअन्तर्गत नेतृत्व तथा जवाफदेहिता सुदृढ गर्ने, सडक र सवारीसाधन सुरक्षित बनाउने, जोखिममा रहेका सडक प्रयोगकर्ताको संरक्षण गर्ने, लगानीका लागि विश्वसनीय तथ्यांक उपयोग गर्ने तथा दुर्घटनापछि समयमै गुणस्तरीय आकस्मिक उपचार सुनिश्चित गर्ने विषय समेटिनेछन् ।
‘हरेक व्यक्ति विद्यालय, कार्यस्थल र दैनिक गतिविधिमा सकेसम्म सुरक्षित रूपमा आवतजावत गर्न सक्षम हुनुपर्छ,’ डा. बुद्धले भन्नुभयो, ‘हाम्रा प्रतिबद्धतालाई व्यावहारिक कार्यमा रूपान्तरण गरौँ र सबैका लागि सडक सुरक्षित बनाउन निरन्तर प्रयास गरौँ ।’











प्रतिक्रिया