पुमा खोला पुल सञ्चालनमा, वर्षौँदेखिको स्थानीयवासीको सपना पूरा

0
Shares

लमजुङ ।

लमजुङको बेसीसहर नगरपालिका–७ स्थित पुमा खोला (बनथोक–मैगुम) मा निर्माण गरिएको पुल औपचारिक रुपमा सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको पुलको मंगलबार बेसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले शुभारम्भ गरेका हुन् ।


२५ मिटर लम्बाइ र ७० टन भारवहन क्षमता रहेको उक्त पुल निर्माणका लागि ३ करोड ९८ लाख रुपैयाँ खर्च भएको छ । २०८१ सालमा निर्माण सुरु गरिएको पुल निर्माणको जिम्मा काठमाडौंस्थित उपमा निर्माण सेवा प्रालिले पाएको थियो ।

पुल सञ्चालनमा आएसँगै स्थानीयवासी तथा यात्रुहरुको आवतजावत सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी डुम्रे–बेसीसहर–मनाङ सडकखण्ड अन्तर्गत खरखरे भीरमा पहिरो जाँदा सडक अवरुद्ध हुने समस्याका बेला उक्त पुल वैकल्पिक मार्गका रुपमा उपयोगी हुने विश्वास गरिएको छ । पुल सञ्चालनमा आएपछि मकैडाँडा, भलामसेरा हुँदै मनाङ आवतजावत गर्न सहज हुनुका साथै यात्रुहरुले भोग्दै आएको सास्ती कम हुने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष ऋषिराम बस्नेतले खरखरे भीरमा पहिरोका कारण सडक अवरुद्ध हुँदा पुमा खोला पुललाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने बताए । यसले मकैडाँडा र भलामसेरा हुँदै मनाङ आवतजावत गर्न सहज बनाउनुका साथै यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

पुल निर्माण भएपछि स्थानीयवासीको दैनिक जीवनसमेत सहज हुने भएको छ। लामो समयदेखि पुल नहुँदा खोला वारपार गर्न र बालबालिकालाई विद्यालय पठाउनसमेत समस्या भोग्नुपरेको स्थानीय सुनिता परियारले बताइन् । वर्षायाममा खोला बढ्दा बालबालिकालाई विद्यालय पठाउन नसकेर घरमै राख्नुपर्ने अवस्था रहेको उनले सुनाइन् ।

२०६६ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएकी परियारका अनुसार स्थानीयवासीले पुल निर्माणका लागि वर्षौँदेखि आवाज उठाउँदै आएका थिए । लामो प्रतीक्षापछि पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै स्थानीयवासीको वर्षौँदेखिको सपना पूरा भएको उनले बताइन् । पुल सञ्चालनमा आएपछि आफूहरु निकै खुसी भएको उल्लेख गर्दै उनले निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन् ।