सांसद खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, औपचारिक कार्यक्रममा सहभागी हुन रोक


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका गम्भीर आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत सुनारसँग सम्बन्धित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उनीमाथि उठेका प्रश्नप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई गम्भीर र संवेदनशील रूपमा लिइएको उल्लेख छ।

सुनारसँग सम्बन्धित विवादास्पद अडियो सार्वजनिक भएपछि उनीमाथि विभिन्न प्रश्न उठेका हुन्। सञ्चारमाध्यममा सार्वजनिक भएका सामग्रीमा एक महिलालाई धम्की दिएको तथा आर्थिक लेनदेनसँग सम्बन्धित विषय रहेको दाबी गरिएको छ। यद्यपि, यी विषयमा आधिकारिक अनुसन्धानबाट निष्कर्ष आउन बाँकी छ।

केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिनको निर्देशन रास्वपाले आरोपको सत्यतथ्य पत्ता लगाउन पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन टुङ्गो नलागेसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।

महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि रास्वपाले स्पष्ट पारेको छ। राज्यका निकायलाई सहयोग गर्ने प्रतिबद्धता रास्वपाले सार्वजनिक भएका विषयमा राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। राज्यका निकायले गर्ने अनुसन्धान प्रक्रियामा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत विज्ञप्तिमार्फत जनाएको छ।

‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने लोकतान्त्रिक मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै आचार्यले राज्यको स्वतन्त्र अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानबमोजिम थप कदम चालिने बताएका छन्। कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने रास्वपाको भनाइ छ। सुनारमाथि सार्वजनिक भएका आरोपको अन्तिम सत्यतथ्य भने सम्बन्धित निकायको अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ। पार्टीको आन्तरिक छानबिन र राज्यका निकायबाट हुने अनुसन्धानको निष्कर्षले यस प्रकरणमा आगामी कदम निर्धारण गर्नेछ।