दशैंका लागि गाउँ फर्किनेको लर्को, २४ घण्टामा ५६ हजार यात्रु बाहिरिए


काठमाडौं ।

बडादशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सबैभन्दा बढी २७ हजार ६४९ यात्रु नागढुङ्गा नाकाबाट बाहिरिएका छन्। त्यस्तै, भक्तपुर नाकाबाट २० हजार ६१५ र फर्पिङ नाकाबाट ५ हजार ५१० यात्रु बाहिरिएका छन्।

दशैंमा परिवार तथा आफन्तसँग चाडपर्व मनाउन राजधानीमा अध्ययन, रोजगारी र व्यवसायमा संलग्न मानिसहरू गाउँ फर्किन थालेका हुन्।

यात्रुको चाप बढिरहेका बेला विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन व्यवस्थापनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन्। महासङ्घले यात्रुलाई अग्रिम टिकट लिएर, तोकिएको भाडा तिरेर र सवारीसाधनको अवस्था जाँच गरी यात्रा गर्न आग्रह गरेको छ।