–चार दशक नेपालको शिक्षामा समर्पित सेन्ट जेभियर्सका पूर्वप्रिन्सिपल मानियार ‘गोरखा दक्षिणबाहु’बाट सम्मानित
काठमाडौं ।
सेन्ट जेभियर्स स्कुल जावलाखेलका पूर्वप्रिन्सिपल एवं वरिष्ठ शिक्षाविद् फादर लरेन्स मानियार, एसजेको ७४ वर्षको उमेरमा अचानक हृदयघातका कारण निधन भएको छ । लामो समय नेपालको शिक्षा र सामाजिक क्षेत्रमा क्रियाशील फादर मानियारको भारतको सिक्किमस्थित नाम्चीमा निधन भएको हो । निधनका बेला उहाँ त्यहाँस्थित लोयोला कलेज अफ एजुकेसनमा प्रमुख (सुपेरियर) का रूपमा कार्यरत हुनुहुन्थ्यो ।
झण्डै चार दशक नेपालमा बिताउनुभएका फादर मानियारले सन् १९९३ देखि २००५ सम्म लगातार १२ वर्ष सेन्ट जेभियर्स स्कुल, जावलाखेलको प्रिन्सिपलका रूपमा नेतृत्व सम्हाल्नुभएको थियो । नेपालको शिक्षा क्षेत्रमा उहाँले पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै तत्कालीन श्री ५ को सरकारले उहाँलाई ‘गोरखा दक्षिणबाहु’बाट विभूषित गरेको थियो । यसका साथै उहाँले शिक्षा क्षेत्रका दर्जनौँ पदक तथा पुरस्कारसमेत प्राप्त गर्नुभएको थियो ।
उहाँको निधनप्रति दुःख व्यक्त गर्दै सेन्ट जेभियर्स कलेज माइतीघरका प्रिन्सिपल फादर अमृत राईले भन्नुभयो– ‘केही व्यक्तिहरूले हामीलाई सम्झनाहरू मात्र दिएर जाँदैनन्, उनीहरूले आफूलाई चिनेका र सङ्गत गरेका मानिसहरूको जीवनमा आफ्नो अमिट छाप छोडेर जान्छन् । फादर लरेन्स मानियार, एसजे त्यस्तै एक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँलाई उहाँको आत्मीय मित्रता, समर्पण र अरूप्रति देखाउनुभएको स्नेह तथा चासोका लागि स्नेहपूर्वक र कृतज्ञताका साथ स्मरण गर्दछौँ ।’
फादर मानियारको शिक्षकहरूको क्षमता विकास र व्यक्तित्व निर्माणमा विशेष रुचि रहेको स्मरण गर्दै फादर राईले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘शिक्षकहरूमा आत्मविश्वास अभिवृद्धि गर्न र उनीहरूको शिक्षण सीप सुधार गर्न उपयोगी हुने गोष्ठी तथा कार्यशालाहरू आयोजना गर्न उहाँ निकै कुशल हुनुहुन्थ्यो । उहाँमा जनसम्पर्कको स्वाभाविक क्षमता पनि थियो । विभिन्न पृष्ठभूमिका मानिसहरूसँग सहज रूपमा घुलमिल हुन र आत्मीय सम्बन्ध स्थापित गर्न उहाँ सिपालु हुनुहुन्थ्यो ।’
उहाँको अर्को महत्वपूर्ण विशेषता गरिब तथा विपन्नप्रतिको गहिरो प्रेम र आवश्यकतामा परेका मानिसहरूलाई सहयोग गर्ने तत्परता रहेको उल्लेख गर्दै फादर राईले थप्नुभयो– ‘शिक्षा र मानवीय विकाससँगै करुणा, सहानुभूति र अरूप्रतिको चासो पनि उत्तिकै आवश्यक छन् भन्ने कुरा उहाँले आफ्नो व्यवहारबाट देखाउनुभएको थियो । जेसुइट सोसाइटीमार्फत उहाँले मानवसेवामा पु¥याउनुभएको योगदान सेन्ट जेभियर्स परिवारले कहिल्यै बिर्सन सक्दैन । हामी फादर मानियारलाई उहाँले गर्नुभएको काम र योगदानका लागिमात्र होइन, उहाँको असल व्यक्तित्वका लागि अझ बढी सम्झिरहनेछौँ । उहाँ एक समर्पित शिक्षाविद्, धेरैका आत्मीय मित्र र गरिब तथा विपन्नहरूको दुःख बुझ्ने संवेदनशील मानव हुनुहुन्थ्यो ।’
फादर मानियारले सन् २००६ अप्रिल २९ देखि सन् २०११ डिसेम्बर २५ सम्म क्षेत्रीय प्रमुख (रिजन सुपेरियर) का रूपमा सेवा गर्नुभएको थियो । त्यसपछि पनि लोयोला कलेज अफ एजुकेसनमार्फत शैक्षिक र सामाजिक मिसनलाई निरन्तरता दिनुभएका उहाँ सेन्ट जेभियर्स स्कुल स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा अक्टोबर ३ मा आयोजित कार्यक्रममा सहभागी हुन १० दिनअघि मात्रै नेपाल आउनुभएको थियो । उहाँको निधनले जेसुइट समुदाय, सेन्ट जेभियर्स परिवार तथा उहाँसँग परिचित र सहकार्य गरेका धेरै मानिसहरूका लागि अपूरणीय क्षति पुगेको छ ।











प्रतिक्रिया