काठमाडौं ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पदाधिकारी चयनसँगै मतगणनाको एउटा चरण पूरा हुने क्रममा छ ।
उपसभापति र महामन्त्रीका पदमा नयाँ अनुहार निर्वाचित भएसँगै अब केन्द्रीय सदस्यको मतगणना आज मंगलवारदेखि सुरु हुने छ । उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।
खुला उपसभापतिमा भण्डारीले सर्वाधिक ३ हजार ७ सय ३५ र आचार्यले २ हजार ३ सय ४२ मत प्राप्त गर्नुभयो । खुला उपसभापतिका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७ सय ५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६ सय ७३, धनराज गुरुङले १ हजार ५ सय ९६, दीपक गिरीले ९ सय २३ र प्रा.डा. चन्द्रमोहन यादवले ७ सय ६० मत प्राप्त गर्नुभएको थियो ।
समावेशी उपसभापतिमा चौधरी १ हजार ७ सय ४५ मतसहित विजयी हुनुभयो । समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६ सय ५८, फरमुल्लाह मन्सुरले १ हजार १ सय ४४, सीता गुरुङले १ हजार १ सय १२ र रञ्जित कर्णले ५ सय ६२ मत प्राप्त गर्नुभएको थियो ।
महामन्त्रीमा खुला महामन्त्रीतर्फ पौडेलले ४ हजार १ सय ९४ र राणाले २ हजार ३ सय ३० मत पाउँदै विजयी हुनुभयो । खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरूमा डा. सुनीलकुमार शर्माले २ हजार २ सय ५७, गुरुराज घिमिरेले १ हजार ५ सय १३, नैनसिंह महरले १ हजार १ सय ३४, अमरसिंह पुनले १ हजार १ सय २५, शंकर तिवारीले १ सय २३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाउनुभएको थियो ।
यसै गरी, महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार १ सय १८ मतसहित निर्वाचित भएको छ । उहाँका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८ सय ६४ र रीता खनालले ८ सय ४ मत प्राप्त गर्नुभएको थियो । खुला सहमहामन्त्रीको मतगणनामा रामहरि खतिवडा अग्रस्थानमा रहँदा अजय शिवाकोटी दोस्रो र डिल्लीराज सुवेदी तेस्रो स्थानमा हुनुहुन्छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिमा एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिलासहित तीन उपसभापति र तीन महामन्त्री रहनेछन् । त्यसै गरी १४ सहमहामन्त्री रहने व्यवस्था प्रस्ताव गरिएको छ । सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र तीन जना मनोनीत हुनेछन् । तीन मनोनीतमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था रहेको छ ।
त्यसै गरी खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलवारदेखि सुरु गरिने भएको छ । केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलवार बिहानबाट गर्ने तयारी गरेको छ । समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मंगलवार बिहान ८ बजेबाट खुला केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुनेछ ।
निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेदवारबाहेक प्रतिनिधिको व्यवस्था नभएको पनि जनाएको छ । कांग्रेसको संशोधित विधानमा वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति हुने व्यवस्था छ । मतगणनालाई तीव्रता दिन पार्टीको केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ । निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार २३ वटा मतगणना स्थलहरूबाट मतगणना कार्य भइरहेको छ ।
अधिवक्ता कटुवालका अनुसार, कुल २३ वटा मतगणना स्थलहरूमा ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूको मत गणना भइरहेको छ । यस प्रक्रियामा करिब १ लाख ८४ हजार मतपत्रहरूको गणना सम्पन्न गर्नुपर्ने छ । बढ्दो मतदाता संख्या र क्लस्टरहरूका कारण कामलाई तीव्र बनाउन निर्वाचन समिति लागिपरेको बटुवालले बताउनुभयो ।
कटुवालका अनुसार नेपाली जनसम्पर्क समितिको ९ स्थानमा, आदिवासी जनजाति समूहको ३ स्थानमा, सह–महामन्त्री (महिला र खुला) ४ स्थानमा, पिछडिएको क्षेत्रको २ स्थानमा मत गणना भइरहेको कटुवालको भनाइ छ । कटुवालले पार्टीको भौतिक संरचनाले भ्याएसम्मको स्थानहरूमा मतगणना भइरहेको र थप स्थलहरूका लागि कार्यालय बाहिर टेन्ट टाँगेर भए पनि मतगणनाको संख्या बढाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
अघिल्लोपटकको महाधिवेशनमा मतगणनाका लागि करिब १२ दिनको समय लागेको स्मरण गराउँदै कटुवालले भन्नुभयो– ‘यस पटक थप क्लस्टर र मतदाता संख्या बढेकाले काममा चुनौती छ, तर हामी तीव्र गतिमा काम गरिरहेका छौं । हामीले ३ दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेका छौं ।’
विभिन्न समावेशी क्लस्टर, पेसागत समूह र द्वन्द्वपीडितलगायतका क्षेत्रहरूको छुट्टाछुट्टै मतगणना भइरहेकाले यसपटकको निर्वाचन प्रक्रिया थप जटिल भए पनि निर्वाचन समितिले व्यवस्थापनमा कुनै कसर बाँकी नराखेको उहाँले बताउनुभयो ।











प्रतिक्रिया