५८ परिवार होल्डिङ सेन्टरमा, सामूहिक भान्सा सञ्चालन

0
Shares

धादिङ ।

बूढीगण्डकी नदीमा आएको बाढीले घरटहरा बगाएपछि विस्थापित भएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ आरुघाटस्थित स्याउलीबजारका ५८ परिवारलाई सामूहिक भान्सासहितको होल्डिङ सेन्टर स्थापना गरी आश्रय दिइएको छ ।

बाढीले घरटहरा बगाएर प्रभावित भएका ७२ परिवारमध्ये तत्काल आश्रय आवश्यक परेका ५८ परिवारलाई स्थानीय चुलीदेवी माध्यमिक विद्यालयमा राखिएको हो । गाउँपालिकाको पहलमा विद्यालयमा होल्डिङ सेन्टर स्थापना गरी विस्थापित परिवारका लागि सामूहिक रूपमा खाना पकाउने, खुवाउने र अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

जीवनभरको कमाइले बनाएका घरटहरा, अन्नपात, लत्ताकपडा र दैनिक उपभोगका सामग्री बाढीले बगाएपछि विस्थापित परिवारको बिचल्ली भएको छ । हिजोसम्म आफ्नै घरमा बसेका परिवार अहिले विद्यालयको आश्रयस्थलमा सामूहिक रूपमा बस्न बाध्य भएका छन् । बाढीले बस्तीको नामनिसान नै नरहने गरी क्षति पु¥याएपछि उनीहरूलाई तत्काल राहतसँगै सुरक्षित बसोबासको दीर्घकालीन व्यवस्था गर्नुपर्ने चुनौती थपिएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीका अनुसार बाढीबाट विस्थापित परिवारलाई तत्काल भोकै बस्न नपर्ने गरी सामूहिक भान्सा सञ्चालन गरिएको छ । गाउँपालिकाले बिहानैदेखि खानाखाजाको व्यवस्था मिलाएको र स्थानीय छिमेकीसमेत खाना पकाउने तथा खुवाउने काममा जुटेका छन् ।

‘बाढीले स्याउलीबजारको सुकुम्बासी बस्ती नै बगाएको छ । घरटहरा गुमाएका परिवारलाई चुलीदेवी माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर स्थापना गरेर राखेका छौँ,’ अध्यक्ष उप्रेतीले भन्नुभयो– ‘गाउँपालिकाले खानाखाजाको व्यवस्था गरेको छ । छिमेकीहरू खाना पकाउन र खुवाउन सहयोग गरिरहनुभएको छ । विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न र लत्ताकपडाको व्यवस्थापन भइरहेको छ ।’

बाढीपीडितका लागि तत्काल खाना र बसोबासको व्यवस्था मिलाइए पनि उनीहरू कहिले र कहाँ पुनःस्थापित हुने भन्ने टुंगो लागेको छैन । बस्ती नै बगाएकाले विस्थापित परिवारलाई पुरानै स्थानमा फर्काउन सकिने अवस्था नरहेको भन्दै अध्यक्ष उप्रेतीले सुरक्षित स्थानको पहिचान गरी दीर्घकालीन पुनःस्थापनाको विकल्प खोजिने बताउनुभयो । बाढी प्रभावित परिवारको राहत तथा उद्धारमा स्थानीय सरकारसँगै नेपाल रेडक्रस सोसाइटी र विभिन्न संघसंस्था सक्रिय भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले विस्थापित परिवारलाई कम्बल, त्रिपाल, म्याट, झुल, हाइजिन किट, डोरी, बाल्टी, मगलगायत गैरखाद्य राहत सामग्री वितरण गरेको छ ।

रेडक्रस धादिङका सभापति दुर्लभकुमार तामाङका अनुसार तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको र प्रभावित परिवारको आवश्यकताका आधारमा थप सहयोग गरिनेछ । ‘अहिलेका लागि गैरखाद्य राहत सामग्री वितरण गरेका छौँ । विस्थापित परिवारको आवश्यकता पहिचान गरी थप सामग्री उपलब्ध गराउनेछौँ’ –उहाँले भन्नुभयो ।

बूढीगण्डकीको बाढीले स्याउलीबजारको बस्तीसँगै धादिङ र गोरखा जोड्ने पक्की पुलसमेत बगाएको छ । पुल बगेपछि दुई जिल्लाबीचको स्थानीय आवतजावत प्रभावित भएको छ । बाढीले त्रिपुरासुन्दरी गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र नृसिंहधाममा पनि क्षति पु¥याएको छ । गाउँपालिका अध्यक्ष उप्रेतीका अनुसार गत जेठमा निर्माण गरिएको हवनकुण्ड बाढीले बगाएको छ भने मन्दिर आसपासको जमिन कटान गरेको छ । बाढीसँगै आएको लेदो जम्नुका साथै अर्को क्षेत्रमा पहिरो गएपछि आश्रमस्थलसमेत जोखिममा परेको छ ।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले बाढीबाट विस्थापित परिवारको तत्कालीन व्यवस्थापन गरिएको र अब उनीहरूको दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राखिने बताउनुभयो । प्रभावित क्षेत्रको अवस्था अध्ययन गरी स्थानीय सरकार तथा सरोकारवाला निकायसँग छलफल गरेर सुरक्षित बसोबासको व्यवस्था मिलाउन आवश्यक कदम चालिने उहाँको भनाइ छ ।

बाढीले घरबारविहीन बनाएका परिवारका लागि अहिले विद्यालयको होल्डिङ सेन्टर अस्थायी सहारा बनेको छ । सामूहिक भान्साबाट दैनिक खानपिनको समस्या केही हदसम्म समाधान भए पनि उनीहरूको भविष्य भने अनिश्चित छ । घरसँगै आफ्नो थातथलो गुमाएका विस्थापित परिवारलाई राहत सामग्री वितरणमा मात्र सीमित नराखी सुरक्षित आवास र स्थायी पुनःस्थापनाको व्यवस्था गर्नु अब सरकारका लागि प्रमुख चुनौती बनेको छ ।