स्तन क्यान्सर सचेतनाका लागि ७०० जनाको र्‍याली, धरहरामा फहराइयो गुलाबी कपडा


काठमाडौं।

स्तन क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले गुलाबी अक्टुवर अर्थात् स्तन क्यान्सर सचेतना महिनाको अवसरमा रक्षा क्यान्सर केयर सोसाइटीले काठमाडौंमा सचेतना र्‍याली आयोजना गरेको छ। विभिन्न संघसंस्थाका प्रतिनिधि, क्यान्सर विजेता, कलाकार, खेलाडीलगायत करिब ७०० जनाको सहभागितामा र्‍याली आयोजना गरिएको हो।


भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा स्तन क्यान्सरलाई जित्न सफल वरिष्ठ गायिकाद्वय मीरा राणा र तारा थापाले संयुक्त रूपमा गर्नुभएको थियो।

स्तन क्यान्सरसम्बन्धी सचेतना जनस्तरसम्म पुर्‍याउने उद्देश्यले आयोजित र्‍यालीका क्रममा धरहराका चारै दिशाबाट गुलाबी रङको कपडा फहराइएको थियो। स्तन क्यान्सर सचेतनाको प्रतीकका रूपमा गुलाबी रङ प्रयोग गर्दै रोगको समयमै पहिचान, परीक्षण र उपचारको महत्त्वबारे सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।

रक्षा क्यान्सर केयर सोसाइटीकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले स्तन क्यान्सरको समयमै पहिचान गरी उपचार गर्न सके पूर्ण रूपमा निको हुने सम्भावना रहने बताउनुभयो। जनमानसमा पर्याप्त सचेतना फैलाउन सके स्तन क्यान्सरबाट हुने जोखिम न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो।

सोसाइटीले स्तन क्यान्सरको पहिचान र परीक्षणलाई सहज बनाउन निःशुल्क मेमोग्राफी अर्थात् स्तन परीक्षणको व्यवस्था गर्दै आएको पनि डा. श्रेष्ठ प्रजापतिले जानकारी दिनुभयो।

काठमाडौं महानगरपालिकाका प्रमुख सुनिता डंगोलले समयमै जाँच गराएर रोगको पहिचान गर्न सके उपचार र पुनर्जीवन सम्भव हुने सन्देशलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो। स्तन क्यान्सरबाट बच्न तथा यसको जोखिम कम गर्न नियमित परीक्षण र जनचेतनाको महत्त्व रहेको उहाँले जोड दिनुभयो।

र्‍यालीमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत वक्ताहरूले स्तन क्यान्सरको समयमै पहिचान र उपचारका लागि सचेतना फैलाउनुपर्ने सन्देश दिनुभएको थियो। भृकुटीमण्डपबाट सुरु भएको र्‍याली वसन्तपुर दरबार क्षेत्रमा पुगेर समापन भएको थियो।
र्‍यालीमा इनर ह्विल डिस्ट्रिक्ट ३५० का विभिन्न पदाधिकारी, स्तन क्यान्सरलाई जित्न सफल व्यक्तिहरू, पप गायक धीरज राई, कलाकार तथा गायक यमन श्रेष्ठ, मिस नेपाल वर्ल्ड दीपमाला ढकाल, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल तथा विभिन्न राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो।

आयोजक रक्षा क्यान्सर केयर सोसाइटीले स्तन क्यान्सरबारे समाजमा विद्यमान भ्रम र संकोच हटाउँदै समयमै परीक्षण गराउने बानीको विकास गर्न तथा रोग पहिचान भएमा उपचारका लागि प्रोत्साहित गर्न सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।