खोटाङमा ६५ बर्ष पुरा गरेको जेष्ठ पत्रकारलाई पेन्सन दिन सुरु

376
Shares

खोटाङ ।

नेपाल पत्रकार महासंघ खोटाङले ६५ वर्ष पूरा गर्नुभएको जेष्ठ पत्रकार कृष्ण आचार्यलाई पेन्सन प्रदान गरेको छ । महासंघले तय गरेको ‘ज्येष्ठ नागरिक पेन्सन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ अनुरुप ७२ वर्षीय आचार्यलाई पेन्सन प्रदान गरेको हो ।

स्वतन्त्र प्रेस सेनानीको उपाधी समेत पाउनुभएको आचार्यलाई गत साउन, भदौ र असोजको मासिक तीन हजार रुपैंयाका दरले नौं हजार रुपैंयाँको चेक सोमबार हस्तान्तरण गरिएको पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष हरिवोल आचार्यले वताउनुभयो ।

गत जेठ ९ गते सम्पन्न महासंघको १२ औं साधारणसभाले पारित गरेको कार्यविधिमा २५ वर्ष पत्रकारिता गरी ६५ वर्ष पूरा भएका पत्रकारलाई ‘जेष्ठ पत्रकार निबृत्तिभरण’कोष स्थापना गरी पेन्सन दिने निर्णय गरेको थियो । महासंघले कम्तीमा १० लाख रुपैंयाँको अक्षयकोष स्थापना गरी सोही कोषको ब्याजमार्फत पेन्सन दिने कार्यविधि बनाएको थियो ।

जिल्लामै रही काम गरेका पत्रकारलाई मात्र पेन्सन दिइने कार्यविधिमा उल्लेख छ । कुनै राजनीतिक दल वा पेसागत संस्थाको कार्यकारी पदमा बहाल रहेको व्यक्ति, सूचना तथा प्रसारण विभाग वा प्रेस काउन्सिल नेपालको कालो सूचीमा परेको व्यक्ति, नैतिक पतन ठहरिने गरी फौजदारी अपराधमा दोषी ठहर भएकाले उक्त पेन्सन नपाउने उल्लेख छ ।।