काठमाडौं ।
बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद भएको २१ किलो ७५०.६८ ग्राम सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाएको हो।प्रहरीका अनुसार पक्राउ पर्नेमा २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन छन्।
उनीहरूले घर भाडामा लिएर सुनको कारखाना सञ्चालन गरेको आरोप छ।प्रहरीले घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको थियो। बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्ने आशंका गरिएको छ। घटनामा संलग्न अन्य व्यक्ति तथा सम्भावित सञ्जालको पहिचान गर्न प्रहरीले विभिन्न क्षेत्रलाई समेटेर थप अनुसन्धान जारी राखेको छ।











प्रतिक्रिया