संघीयतासँगै मुहार फेर्न थालेको छ तल्लो स्वराड क्षेत्र

470
Shares

बैतडी । सदियौंदेखि उपेक्षित बैतडीको तल्लो स्वराड क्षेत्रले संघीयता कार्यान्वयनसँगै थुप्रै प्रगति हासिल गरेको छ । संघीयता कार्यान्वयनको पछिल्लो दशकमा तल्लो स्वराड क्षेत्रले विकास निर्माणका क्षेत्रमा हासिल गरेका कैयौँ उपलब्धिहरु निकै प्रेरणादायी छन् । बैतडी जिल्लाको दक्षिण–पश्चिमी भेगमा पर्ने तल्लो स्वराड क्षेत्र भौगोलिक रूपमा महाकाली नदीसँग जोडिएको सीमावर्ती क्षेत्र हो । वर्तमान प्रशासनिक संरचनाअनुसार तल्लो स्वराड क्षेत्रको मुख्य भूभाग मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा समेटिएको छ ।

२०१५ सालको संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट तल्लो स्वराडकी नेतृ स्व. द्वारिकादेवी ठकुरानीले निर्वाचन जितेर दक्षिण एसियाकै पहिलो महिला मन्त्री बनेसँगै चर्चा पाएको तल्लो स्वराड क्षेत्रले आफ्नै ऐतिहासिक गाथा बोकेको छ । उसो त तल्लो स्वराड क्षेत्रको मौलिक इतिहास महाकाली नदी, सीमापार आवतजावत, स्थानीय कृषि उत्पादन र भारतका बजारसँगको व्यापारिक सम्बन्धसँग गाँसिएको छ ।
पञ्चायतकालका राजनीतिक हस्ती सूर्यबहादुर थापाले बैतडीमा शिक्षण पेसामा संलग्न गणेश लेखकलाई अघि सारेर लोकेन्द्रबहादुर चन्दलाई निर्वाचनमा हराउने षड्यन्त्र बुनेपछि चन्दको पहलमा २०३२ सालमा तल्लो स्वराड क्षेत्रका तत्कालीन १३ गाउँ पञ्चायतलाई डडेल्धुरा जिल्लाबाट बैतडीमा गाभिएको हो । तल्लो स्वराड क्षेत्रका मुर्धन्य राजनीतिक व्यक्तित्व स्व. जयसिंह महताको साथ पाएपछि चन्द बैतडीमा प्रभुत्वशाली बन्न पुगेको समकालीन राजनीतिकर्मीहरु बताउँछन् ।

धार्मिक, सांस्कृतिक विविधता र प्राकृतिक सम्पदाले भरिपूर्ण तथा कृषि, उद्यम र शिक्षाको दृष्टिले समृद्ध तल्लो स्वराड क्षेत्रलाई यातायात, विद्युत्, खानेपानी, सिंचाइ, सञ्चारजस्ता भौतिक पूर्वाधारको अभावले संघीयता कार्यान्वयन नहुँदासम्म निकै ओझेलमा पा¥यो । संघीयताअघि राति महाकालीपारि भारतका पिथौरागढ, ओड्डाजस्ता व्यापारिक केन्द्र र स–साना ग्रामीण बस्तीहरु झलमल्ल देखिन्थे भने तल्लो स्वराडका गाउँहरू फाट्टफुट्ट सोलारको मधुरो बत्तीका बीच निष्पट्ट अन्धकारमा डुब्ने बाध्यतामा थिए । ग्वाल्लेकको बग्लेखान कटेपछि दुई दिनको बाटो मेलौलीसम्मै मोबाइल सेटमा नेपाली सिमकार्ड झिकेर भारतीय सिमकार्ड हाल्नुपर्दा र गाउँका पसलका भित्ता तथा साइनबोर्डहरूमा सम्पर्क नम्बरको रूपमा भारतीय मोबाइल नम्बर लेखिएको देख्दा मन कुँडिन्थ्यो ।

तल्लो स्वराडका चिया पसल, समान्य होटल र किराना पसलहरूमा प्रायः नेपाली रुपैयाँमा हिसाब हुँदैनथ्यो । व्यापारीहरूले सामान लिन र स्थानीयले औषधोपचारदेखि अलि ठूलो किनमेल गर्न दिन बिताएर महाकालीपारि जाने बाध्यता थियो । बैंक खाता खोल्न जिल्ला सदरमुकामभन्दा केही नजिक पर्ने भएकाले सो क्षेत्रका बासिन्दाहरु डडेल्धुरा पुग्थे । तल्लो स्वराड क्षेत्रका सरकारी निकायकै बैंकिङ कारोबार डडेल्धुरामा हुन्थ्यो । वर्षभरि खान पुग्ने अन्नपात उत्पादन हुने घरपरिवार ज्यादै कम थिए ।

खच्चडमार्फत चामल ढुवानी गर्नुपर्दा बजार मूल्यभन्दा प्रतिकिलो २० रुपैयाँ महँगो तिर्नुपर्ने बाध्यता थियो । सशस्त्र द्वन्द्वका बेला निकै प्रभावित तल्लो स्वराड क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने माग स्थानीय माओवादी नेताहरुले जोडदार ढंगले उठाएका थिए । विद्रोही माओवादीको बलियो पकड रहेको तल्लो स्वराडबाट विस्थापित थुप्रै सर्वसधारण शान्ति प्रक्रियापछि मात्रै घर फर्किएका थिए । हरेक घरबाट रोजगारीका लागि भारत पस्नुपर्ने बाध्यता थियो ।

तल्लो स्वराड क्षेत्रले संघीयताको कार्यान्वयनसँगै मुहार फेर्न थालेको हो । संघीयता कार्यानन्वयनसँगै पहिलोपटक सम्पन्न स्थानीय निर्वाचनमा तल्लो स्वराडको शैक्षिक विकासमा अतुलनीय योगदान पु¥याएका पूर्व क्याम्पस प्रमुख तथा वरिष्ठ समाजसेवी कृष्णसिंह नायकले मेलौली नगरपालिका, पूर्वप्राचार्य गोरखबहादुर चन्दले पञ्चेश्वर गाउँपालिका र युवानेता कर्णसिंह साउदले शिवनाथ गाउँपालिकाको नेतृत्व गरेपछि सर्वसाधारणले स्थानीय सरकारको अनुभूति गर्ने अवसर पाए । गाउँ–बस्तीमा धमाधम विकास निर्माणका योजना कार्यान्वयन हुन थाले । मजदुरीका लागि भारत पस्ने बाध्यतामा रहेका सर्वसाधारणले गाउँ–बस्तीमै रोजगारीका अवसर पाए ।

२०७९ सालको स्थानीय निर्वाचनका क्रममा नायकले मेलौलीको नेतृत्व छोडे पनि शिवनाथ र पञ्चेश्वरमा नेतृत्व फेरिएको छैन । मेलौली नगरपालिकाको नेतृत्वमा पुगेका माओवादीका भीमबहादुर चन्द ‘भूकम्प’ले अग्रजकै बाटो अवलम्बन गरेर नगरको विकासमा अहोरात्र खटिन थालेपछि तल्लो स्वराडको केन्द्र मानिने मेलौलीमा उपलब्धिमूलक कामहरु भइरहेका छन् । आंँगनअगाडि एक–दुईवटा भैंसी, एक हल गोरु र पाँच–सातवटा बाख्रा नभएको घरै भेटिँदैन । धमाधम पक्की घरहरू निर्माण भइरहेका छन् । नगरोन्मुख क्षेत्रमा घरघरै र ग्रामीण बस्तीका हरेक टोलमा खानेपानीका धारा छन् । गाउँंहरूमा हरियाली छाएको छ ।

२०४२ सालदेखि निर्माण थालिएको ६५ किमि लामो पाटन–पञ्चेश्वर कच्ची सडकलाई पाटनबाट २० किमि परको सलेनासम्म पुग्न तीन दशक लाग्यो । संघीयता कार्यान्वयनसँगै स्थानीय सरकारको अगुवाइमा शिवनाथको सुल्लेखानसम्म कालोपत्रे भइसकेको सो सडकखण्ड पञ्चेश्वरको आमचौरासम्म निर्माण भई स्तरोन्नति र कालोपत्रे भइरहेको छ । सडक विभागले तल्लो स्वराडको केन्द्र मानिने मेलौलीलाई डडेल्धुराको उग्रतारासँग जोड्ने महत्वपूर्ण उग्रतारा–मेलौली सडकसँगै डडेल्धुराको परछेटाबाट विशालपुर, उदयदेव, शर्माली हुँदै पञ्चेश्वर जोड्ने सडकको ट्रयाक खुलिसकेको छ ।

जीआईजेड र राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको आर्थिक, प्राविधिक र खाद्यान्न सहयोगमा गाउँलेहरूले खनेको ३२ किमि लामो देहीमाण्डौ–गिरेगाडा ग्रामीण पक्की सडक सुचारु छ । तल्लो स्वराड क्षेत्रका हरेक गाउँ–बस्तीहरु सडक सञ्जालसँग जोडिएका छन् । एक दशकअघिसम्म भारतीय उत्पादन मात्रै पाइने र भारतीय रुपैयाँमा कारोबार हुने तल्लो स्वराड क्षेत्रलाई यातायात पूर्वाधारले बिस्तारै आत्मनिर्भर बनाउन थालेको छ । यातायात सेवा सुचारु भएसँगै स्थानीय कृषिउपजले कैलाली र कञ्चनपुरसम्म बजार विस्तार गर्न सकेको छ ।

कालोपत्रे सडकसँगै पक्की पुल, हरेक बस्तीमा बिजुली, टेलिफोन सेवा, खानेपानी, सिँचाइजस्ता पूर्वाधार विकाससँगै इलाका प्रशासन कार्यालय, क्याम्पस, स्वास्थ्य संस्था र अस्पताल खुलेपछि तल्लो स्वराडको जीवनस्तरसँगै परिचय फेरिन थालेको छ । शिवनाथको पत्थरदेखि घर पोत्ने रातोमाटोसमेत बिक्री हुन थालेपछि स्थानीय दङ्ग छन् । पूर्वाधार विकास र प्रशासनिक सुगमताले नयाँ युगको शुरुवात भएको तल्लो स्वराडवासीहरु बताउँछन् । गाउँमा बिजुली आएसँगै विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन शुरु भएको छ । स्थानीय सरकारबाट अनुदान लिएर बस्ती–बस्तीमा कुटानी–पिसानीका मिल सञ्चालनमा आएपछि किसानलाई राहत पुगेको छ ।

तल्लो स्वराड क्षेत्रमा हाल तीनवटा क्याम्पस खुलेका छन् । मेलौलीमा मणिलेक बहुमुखी क्याम्पस, शिवनाथमा ग्रामप्रकाश बहुमुखी क्याम्पस र पञ्चेश्वरमा नवप्रभात क्याम्पस सञ्चालनमा आएका छन् । पालिकास्तरमै क्याम्पस सञ्चालनमा आएपछि गाउँमै उच्च शिक्षा अध्ययनको अवसर सिर्जना भएको छ । छोरी–बुहारीले घरको काम भ्याएर उच्च शिक्षा अध्ययन गर्दै जीवनस्तरमा सुधार ल्याउन थालेका छन् । हाल तल्लो स्वराडमा कुल विद्यालय संख्या १०६ पुगेको छ । अधिकांश कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ । रैथाने बालीका लागि तल्लो स्वराड क्षेत्र नमुना बन्दै गएको छ ।

तल्लो स्वराड क्षेत्रको केन्द्रविन्दुका रूपमा रहेको मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टर कार्यरत छन् । चिकित्सकले गाउँमै बसेर सेवा दिन थालेपछि यहाँका स्थानीयले प्राथमिक उपचारका लागि शहर वा सदरमुकाम धाउनुपर्ने अवस्था हटेको छ । प्रमुख व्यापारिक तथा धार्मिक पर्यटकीय क्षेत्र मेलौली नगरपालिका–१, बिट्ठनेमा क्षेत्रीय स्तरको खेल मैदान निर्माण भएको छ । खेल मैदानभन्दा तल्लो क्षेत्रमा ३३ केभीको विद्युतीय सबस्टेसन निर्माण पूरा भएको छ । स्थानीय स्तरमा रोजगारीका अवसरहरु सिर्जना हुन सकेमा तल्लो स्वराडमा आत्मनिर्भर अर्थतन्त्रको विकास हुने पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्द बताउँछन् । घरेलु तथा कुटिर उद्योग, कृषि उत्पादन र पर्यटन पवद्र्धनलाई प्राथमिकतामा राखेर काम भइरहेकोले स्वरोजगारी बढ्न सक्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष साउद बताउँछन् ।