नेपाली कांग्रेसको १५औं महाधिवेशन नेतृत्व चयनको अवसर मात्र होइन, आठ दशक लामो राजनीतिक विरासतलाई समयसापेक्ष बनाउने निर्णायक मोड पनि हो । नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासको एउटा प्रमुख अध्याय हो । राणा शासनविरुद्धको संघर्षदेखि बहुदलीय व्यवस्थाको पुनःस्थापना, शान्ति प्रक्रियादेखि गणतन्त्र स्थापना र संविधान निर्माणसम्ममा कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको छ । तर इतिहासमा परिवर्तनको नेतृत्व गरेको यही पार्टी आफैँभित्रको नेतृत्व संघर्ष, गुटबन्दी र संगठनात्मक जडताबाट मुक्त हुन सकेको छैन । अहिले कांग्रेससामु उभिएको मूल प्रश्न यही हो ।
इतिहासको गौरव बोकेर मात्र भविष्य निर्माण सम्भव छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनासँगै शुरु भएको राजनीतिक यात्राले २००६ सालमा नेपाली कांग्रेसको स्वरूप लियो । बीपी कोइरालाको नेतृत्वमा प्रजातन्त्रको आन्दोलनले गति पायो । २००७ सालको परिवर्तन, २०१५ सालको निर्वाचन र बीपीको नेतृत्वमा बनेको जननिर्वाचित सरकार कांग्रेसको राजनीतिक यात्राका महत्वपूर्ण उपलब्धि थिए । तर २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार विघटन गरेपछि कांग्रेसले लामो प्रतिबन्ध, जेल र निर्वासनको सामना गर्नुप¥यो ।
२०४६ सालको जनआन्दोलनमा वामपन्थी शक्तिसँग सहकार्य गर्दै कांग्रेसले बहुदलीय व्यवस्था पुनःस्थापनामा भूमिका खेल्यो । त्यसपछि पनि पार्टीले सत्ता सञ्चालनको अवसर पायो । उदार अर्थनीति, निजी क्षेत्रको विस्तार र विकासका पूर्वाधार निर्माणमा योगदान ग¥यो । तर सत्तामा पुगेपछि देखिएका गुटगत संघर्ष, पदको प्रतिस्पर्धा र आन्तरिक असहमतिले पार्टीको लोकतान्त्रिक छविमा प्रश्न उठाए । २०४८ सालमा प्राप्त बहुमत पाँच वर्ष टिक्न नसक्नु र २०५१ सालमा मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था कांग्रेसभित्रको शक्ति संघर्षको उदाहरण थियो । २०५९ सालमा शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाबीचको विवादले पार्टी विभाजनसम्म पु¥यायो । लोकतन्त्रका लागि संघर्ष गरेको पार्टीले आफ्नै आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न नसक्नु विडम्बनापूर्ण थियो ।
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया र गणतन्त्रको यात्रामा कांग्रेसले भूमिका खेल्यो । सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण भयो । तर त्यसपछि पनि पार्टीले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र संगठन सुधारको प्रश्नलाई निर्णायक ढंगले सम्बोधन गर्न सकेन । यही पृष्ठभूमिमा गगन थापाको नेतृत्वमा उठेको परिवर्तनको बहसलाई हेर्नुपर्छ ।
१५ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन भएको सन्दर्भमा कांग्रेसभित्र नयाँ पुस्ताको प्रवेश मात्र पर्याप्त हुँदैन । नेतृत्वको अनुहार फेरिनु र पार्टीको राजनीतिक संस्कार बदलिनु फरक कुरा हुन् । अहिलेको युवा पुस्ताले परम्परागत राजनीतिक दलसँग इतिहासको सम्मान मात्र होइन, सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाम पनि मागिरहेको छ । जेनजी आन्दोलनले स्थापित राजनीतिक नेतृत्व र कार्यशैलीमाथि उठाएका प्रश्नलाई कांग्रेसले गम्भीरतापूर्वक लिनुपर्छ ।
आलोचनालाई अस्वीकार गरेर वा नेतृत्व परिवर्तनलाई पदको अदलबदलमा सीमित गरेर जनविश्वास फर्काउन सकिँदैन ।
गगन थापासामु पार्टीभित्रको गुटगत संरचना कमजोर बनाउने, निर्णय प्रक्रियालाई लोकतान्त्रिक बनाउने, आर्थिक पारदर्शिता सुनिश्चित गर्ने र योग्यताका आधारमा जिम्मेवारी बाँड्ने चुनौती छन् । साथै, पार्टीको नीति र कार्यक्रमलाई युवा, श्रमिक, किसान, उद्यमी तथा आम नागरिकका बदलिँदा आवश्यकतासँग जोड्नुपर्छ ।
बीपीले प्रजातन्त्रको सपना देखाए, गणेशमान सिंहले आन्दोलनको नेतृत्व गरे, गिरिजाप्रसाद कोइरालाले राजनीतिक संक्रमणमा भूमिका खेले र सुशील कोइरालाले संविधान निर्माणको जिम्मेवारी पूरा गरे । अब गगन थापाको नेतृत्वसामु इतिहासको निरन्तरता कायम राख्दै संस्थागत सुधार गर्ने चुनौती छ । कांग्रेसको भविष्य विगतका उपलब्धिको सूचीमा होइन, वर्तमानका कमजोरी सच्याउने साहसमा निर्भर छ । इतिहासले कांग्रेसलाई परिवर्तनको अगुवा बन्ने अवसर दिएको थियो । अब बदलिएको समयले उसलाई आफैँ बदलिन सक्ने कि नसक्ने भन्ने प्रश्नको जवाफ मागिरहेको छ ।











प्रतिक्रिया