काठमाडौं महानगर प्रहरी बलद्वारा निर्माण गरिएको दशैं विशेष गीत आउछ झझल्को सार्वजनिक गरिएको छ।
विजया दशमीलाई लक्षित गरी तयार पारिएको गीत र यसको भिडियो एसजीएस युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
काठमाडौं महानगरपालिका र काठमाडौं महानगर प्रहरी बलको निर्माण खुर्पेटो मिडियाको ब्यानरमा प्रस्तुत गरिएको गीतको भिडियो दशैंको परिवेश र सम्झनालाई समेटेर तयार पारिएको छ। गीतको भिडियोमा कार्की ब्यांक्वेटका सञ्चालक दिलबहादुर कार्की, कलाकार विनोद केसी, सुस्मिता चौलागाईंलगायत काठमाडौं महानगर प्रहरी बलका कर्मचारीले अभिनय गरेका छन्।
गीतको भिडियोमा सधैं नेपाल प्रहरीको भूमिकामा देखि“दै आएका कलाकार विनोद केसी यसपटक भने महानगर प्रहरीका प्रहरी उपरीक्षकको भूमिकामा देखिएका छन्। प्रहरीको भूमिकामा परिचित केसीले महानगर प्रहरीको पोसाक र जिम्मेवारीसहित भिडियोमा अभिनय गरेका हुन्।
कृष्ण लामिछानेको शब्द तथा संगीत रहेको गीतको भिडियोमा शेरबहादुर साउदको कोरियोग्राफी, दुर्गा पौडेलको छायॉकन, दीपक बिष्टको सम्पादन र विनोद केसीको निर्देशन रहेको छ।
गीतले चाडपर्वको माहोलसँगै कलाकार तथा महानगर प्रहरी कर्मचारीको अभिनयलाई पनि समेटेको छ।











प्रतिक्रिया