नेपाली बजारमा च्याङ्ग्राको माग उच्च, प्रतिगोटा ४० हजार रुपैयाँभन्दा माथि

मुस्ताङबाट १५ हजार बढी भेडा–च्याङ्ग्रा निकासी

0
Shares

म्याग्दी ।

नेपालीहरूको मुख्य चाड बडादशैँलाई लक्षित गरेर यसवर्ष मुस्ताङबाट १५ हजारभन्दा बढी भेडा–च्याङ्ग्र्रा देशका विभिन्न बजारमा निकासी भएका छन् । दशैँमा मासुको खपत बढेसँगै मुस्ताङसहित डोल्पा, मुगु, जुम्ला तथा चीनको तिब्बततर्फको कोरला नाकाबाट भेडा–च्याङ्ग्र्रा बजारमा ल्याइएको हो ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार कार्यालयबाट स्वास्थ्य परीक्षण तथा आवश्यक प्रक्रिया पूरा गरी यसवर्ष १३ हजार ८ सय १७ गोटा भेडा–च्याङ्ग्र्रा निकासी भएका छन् । तीमध्ये ११ हजार ७ सय २ गोटा च्याङ्ग्र्रा र २ हजार १ सय १५ गोटा भेडा छन् । कार्यालय प्रमुख डा. लालमणि अर्यालले मुस्ताङबाट मात्रै ९ हजार १ सय ६८ गोटा भेडा–च्याङ्ग्र्रा निकासी भएको बताउनुभयो ।

यसैगरी डोल्पाबाट ३ हजार ५ सय ५१, कोरला नाकाबाट ४ सय ३८, मुगुबाट ३ सय ६० र जुम्लाबाट ३ सय गोटा भेडा–च्याङ्ग्र्रा मुस्ताङ हुँदै बेनी–जोमसोम सडकमार्फत देशका विभिन्न बजारमा पठाइएको छ । कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी निकासी गरिएका बाहेक किसान तथा व्यापारीले प्रत्यक्ष रूपमा करिब २ हजार गोटा भेडा–च्याङ्ग्र्रा निकासी गरेको जनाइएको छ । योसँगै दशैँका लागि मुस्ताङबाट बाहिरिने भेडा च्याङ्ग्र्राको संख्या १५ हजारभन्दा बढी पुगेको हो ।

गत वर्षको दशैँमा मुस्ताङबाट करिब १८ हजार गोटा भेडा–च्याङ्ग्र्रा बाहिरिएका थिए । निकासी गरिएका भेडा च्याङ्ग्र्राको पशु प्राविधिकको टोलीले स्थलगत निरीक्षण तथा स्वास्थ्य परीक्षण गरी आवश्यक प्रमाणपत्र जारी गरेको कार्यालयले जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा स्वस्थ देखिएका भेडा–च्याङ्ग्र्रा मानव उपभोगका लागि योग्य रहेको कार्यालय प्रमुख डा. अर्यालले जानकारी दिनुभयो । दशैँका बेला हरेक वर्ष डोल्पा, मुगु, जुम्ला, मुस्ताङलगायत उच्च हिमाली क्षेत्र तथा तिब्बतबाट समेत भेडा–च्याङ्ग्र्रा नेपाली बजारमा आउने गरेका छन् ।

म्याग्दीसहित देशका विभिन्न जिल्लाका व्यापारीहरू भेडा–च्याङ्ग्र्रा खरिद गर्न उपल्लो मुस्ताङ तथा तिब्बतको सीमावर्ती क्षेत्रसम्म पुग्ने गरेका छन् । विशेष गरी दशैँमा मासुका लागि कोरला नाकाबाट समेत भेडा–च्याङ्ग्र्रा आयात हुँदै आएको छ । यसपटक पनि च्याङ्ग्र्रा खरिद गर्न व्यापारीहरू उपल्लो मुस्ताङका स्थानीयका गोठसम्म पुगेका थिए । उपल्लो मुस्ताङबाट ७ दिनसम्म पैदलयात्रा गरेर म्याग्दी आइपुग्नुभएका धनप्रसाद कुमाईले ५ जनाको समूहले खरिद गरेका ४ सय ६० गोटा भेडा–च्याङ्ग्र्रा जोखिमपूर्ण यात्राका बीच खेदाउँदै ल्याएको बताउनुभयो ।

उपल्लो मुस्ताङको लोमान्थाङ, छोसेरसहित उच्च हिमाली क्षेत्रका लेक तथा तिब्बतमा भेडा च्याङ्ग्र्राको व्यावसायिक रुपमा पालन गरिँदै आएको छ । हिमाली क्षेत्रका बुट्यान तथा झाडीमा पाइने विभिन्न वनस्पति र जडीबुटी खाएर हुर्कने भएकाले भेडा च्याङ्ग्र्राको मासु स्वादिलो तथा स्वास्थ्यका लागि लाभदायक हुने स्थानीयको भनाइ छ । पछिल्लो समय भेडाको तुलनामा च्याङ्ग्र्राको माग नेपाली बजारमा बढ्दै गएको छ । दशैँमा मासुको खपत उच्च हुने र उपभोक्ताले भेडाको तुलनामा च्याङ्ग्र्राको मासु स्वादिलो मान्ने भएकाले च्याङ्ग्र्राको माग बढी हुने गरेको व्यापारीहरू बताउँछन् ।

यसवर्ष बजारमा च्याङ्ग्र्राको मूल्य प्रतिगोटा ४० हजार रुपैयाँभन्दा माथि पुगेको छ भने भेडाको मूल्य ३० हजार रुपैयाँभन्दा बढी छ । दशैँमा माग बढेसँगै भेडा च्याङ्ग्र्राको कारोबार पनि बढ्ने गरेको छ । भेडा च्याङ्ग्र्राको पालन व्यावसायिक बन्दै जानुका साथै बजारमा माग बढ्दै गएपछि गोठमै मूल्य बढ्न थालेको व्यापारीहरू बताउँछन् । दसैँ पर्व सुरु भएसँगै म्याग्दीको सदरमुकाम बेनीबजारलगायत आसपासका क्षेत्रहरुमा भेडा–च्याङ्ग्रा, खसी–बोका र बाख्राको पनि खरिद–बिक्री बढेको छ ।