नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना


काठमाडौँ ।

बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्ये दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।ब्रह्मचारिणी देवीलाई तपस्या, त्याग, संयम, सदाचार र आत्मबलको प्रतीकका रूपमा लिइन्छ। पौराणिक मान्यताअनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्।

सोही तपस्याका कारण उनको नाम ब्रह्मचारिणी रहन गएको धार्मिक विश्वास छ।देवी ब्रह्मचारिणीको दाहिने हातमा जपमाला र बायाँ हातमा कमण्डलु रहेको स्वरूपको पूजा गरिन्छ। उनको आराधनाले ज्ञान, धैर्य, शक्ति, सुख र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।आजका दिन देवीलाई फूल, अक्षता, चन्दन, फलफूल तथा विभिन्न प्रसाद चढाएर पूजा गरिन्छ। विशेषगरी सख्खर चढाई पूजा तथा दान गर्नाले बन्धनबाट मुक्ति मिल्ने र अनिष्ट नाश हुने धार्मिक मान्यता रहेको छ।