धादिङ ।
जीवनभरको कमाइले बनाएको घर बूढीगण्डकीको बाढीले बगाएपछि आरुघाटका बासिन्दा बिचल्लीमा परेका छन् । हिजोसम्म आफ्नै घरमा बसेका परिवार अहिले विद्यालयमा आश्रय लिएर बस्न बाध्य भएका छन् । घरसँगै अन्नपात, लत्ताकपडा र दैनिक उपभोगका सामग्रीसमेत बगेपछि विस्थापित परिवारलाई बिहान–बेलुकाको छाक टार्नसमेत अरूको सहयोग चाहिएको छ ।
आइतवार बिहान बूढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित आरुघाट बजारको घर बगाएका र नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका मानिससमेत विस्थापित भएका छन् । स्याउली क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । स्याउलीलगायतका स्थानमा ७० घर बाढीले बगाएको वडाध्यक्ष कृष्ण खत्रीले जानकारी दिनुभयो । आरुघाटको पुल बजार क्षेत्रका सात घरसमेत क्षतिग्रस्त भएका छन् ।
बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित मोटरेबल पक्की पुलसमेत बगाएको छ । पुल बगेसँगै दुई जिल्लाबीचको यातायात सम्पर्क विच्छेद भएको छ भने गोरखा, धादिङ हुँदै काठमाडौँ जोड्ने वैकल्पिक सडक मार्ग पनि अवरुद्ध भएको छ ।
आरुघाटको पुल धादिङको उत्तरी क्षेत्रका बासिन्दाका लागि अत्यावश्यक सामग्री ढुवानी गर्ने प्रमुख मार्ग थियो । यही बाटो हुँदै त्रिपुरासुन्दरी, गंगाजमुना, मानबुलगायतका क्षेत्रमा खाद्यान्न, खानेतेल, औषधी तथा अन्य सामग्री आपूर्ति हुँदै आएको थियो । पुल बगेसँगै ती क्षेत्रमा दैनिक उपभोग्य वस्तुको अभाव हुने चिन्ता बढेको छ । बिरामीलाई अस्पताल लैजान र स्थानीय उत्पादन बजार पु¥याउनसमेत समस्या भएको छ ।
बाढीले पक्की पुल बगाए पनि विसं २०२६ सालमा निर्माण गरिएको आरुघाटको ऐतिहासिक टावरवाला झोलुङ्गे पुल भने सुरक्षित रहेको छ । ठूलो भौतिक क्षति भए पनि समाचार तयार पार्दासम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । नदीमा पानीको बहाव नघटेकाले तटीय क्षेत्रका बस्तीमा त्रास कायमै छ ।
घरबार गुमाएका परिवारलाई आरुघाट बजारवासी र त्रिपुरासुन्दरी गाउँपालिकाले सामूहिक भोजनको व्यवस्था गरेका छन् । विस्थापितलाई स्थानीय एक निजी विद्यालयमा अस्थायी रूपमा राखिएको छ । नेपाल रेडक्रस सोसाइटी र सहयात्री समाज नेपालले सिरक, कम्बल, बालबालिकाका कपडा, झुल तथा भाँडाकुँडालगायत राहत सामग्री वितरण गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा धादिङकी सांसद गंगादेवी श्रेष्ठसहित स्थानीय जनप्रतिनिधि राहत, उद्धार र विस्थापितको व्यवस्थापनमा खटिएका छन् । घर बगाएका ७० परिवारसहित अन्य विस्थापितलाई तत्काल पर्याप्त राहत र सुरक्षित आवासको व्यवस्था गर्न स्थानीयले माग गरेका छन् ।
यसैबीच, आइतवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको क्षतिको विवरण संकलन गर्ने, तत्काल राहत तथा उद्धारलाई प्राथमिकता दिने र आरुघाटमा बेलिब्रिज निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बैठकले वैकल्पिक यातायात सञ्चालनका लागि धादिङबेँसी–बुङ्कोटघाट–बेनिघाट सडकको स्तरोन्नति गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ । बाढीले घर र सम्पत्ति गुमाएका परिवारलाई तत्कालको राहतसँगै स्थायी पुनस्र्थापनाको चिन्ता छ । नदीको बहाव नघट्दा थप क्षतिको डर उत्तिकै छ । घरबारविहीन परिवारका लागि अहिले सुरक्षित बासको व्यवस्था र अवरुद्ध सडक सम्पर्क पुनःस्थापना गर्नु सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।











प्रतिक्रिया