५ जना बेपत्ता, ८४ जनाको उद्धार

0
Shares

गोरखा ।

गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलाबाट फुटेर बूढीगण्डकी नदीमा लेदोसहित आएको भीषण बाढीका कारण ५ जना बेपत्ता भएका छन् भने ४५ घर पूर्णरूपमा नष्ट भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका ४ वटा हेलिकोप्टरमार्फत ९ जना विदेशी नागरिकसहित ८४ जनाको सकुशल उद्धार गरिएको छ ।

प्राधिकरणद्वारा जारी प्रेस नोट अनुसार चुमनुव्री गाउँपालिका–६ चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट मैदान बहाव आई स्यारखोला हुँदै फुटेर बूढीगण्डकी नदीमा लेदोसहितको ठूलो बाढी आएको हो । बाढीमा परी चुमनुव्री–६ चुम्चेत उङ्गिलुङका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन भएका छन् । घटनाको मुख्य कारण र वस्तुस्थिति पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको ३ जनाको विशेषज्ञ टोली परिचालन गरिएको छ ।

४५ घर पूर्ण ध्वस्त
बाढीले तटीय क्षेत्रका निजी आवास तथा सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । प्राधिकरणको आधिकारिक तथ्यांकअनुसार बाढीका कारण ४५ वटा घर पूर्णरूपमा नष्ट भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ । यसका साथै ३४ वटा गोठ र १२ वटा बंगुरको खोर तथा गोदाम ध्वस्त भएका छन् । त्यसैगरी बाढीले २ वटा पक्की पुल, २ वटा झोलुङ्गे पुल, ३ वटा जलविद्युत् संरचना र ३ वटा सवारी साधन बगाएको तथा क्षति पु¥याएको छ ।

विपद् लगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ७०३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ३ वटा ‘स्पेसल फोर्स’ सहित १७१ जना, नेपाल प्रहरीका १४३ जना र सशस्त्र प्रहरी बलका ३८९ जना रहेका छन् ।
बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी र केन्द्रका गरी २२१ जना प्रतिकार्यकर्ताहरूलाई खटाइएको थियो । साथै बाढी पूर्वानुमान महाशाखाको सूचनाका आधारमा चितवनको बेनीघाटसम्मका तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको प्राधिकरणले जनाएको छ ।

राहत सामग्री र आपत्कालीन चिकित्सा टोली परिचालन
प्राधिकरणले प्रभावित क्षेत्रमा सडक तथा हेलिकोप्टरमार्फत आपत्कालीन राहत सामग्री पठाएको छ । जसमा ५० वटा टेन्ट, ५० वटा त्रिपाल, २०० म्याट्रेस, २०० कम्बल, १०० स्लिपिङ ब्याग, ५० वटा सोलार लाइट, १० किचेन सेट, १० जेनेरेटर, १३० वटा ज्याकेट, २० हाइजिन किट, ९० फुड बास्केट, १० बेबी बास्केट र २० रासन ब्याग रहेका छन् ।

यसैगरी गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

सम्पर्कविहीन पाँच जनाको पहिचान खुल्यो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत सिरिङ्गे हिमालको फेदी उइनगुलुङस्थित भेडीगोठमा सम्पर्कविहीन भएका पाँच जनाको पहिचान खुलेको छ ।

सम्पर्कविहीन हुनेमा चुमनुब्री गाउँपालिका–६ चुम्चेत निवासी ६५ वर्षीय सोनाम लामा, उहाँकी धर्मपत्नी ५९ वर्षीय मोम्मो अजी लामा, ६६ वर्षीय सोम भुट्ठी लामा, ६८ वर्षीय कर्मा लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेको खुलेको हो ।

उहाँहरु उइनगुलुङस्थित भेडीगोठमा बस्दै आउनुभएको थियो । सम्पर्कविहीन भएका पाँच जना स्थानीय बासिन्दा रहेको खुले पनि उनीहरु कहिलेदेखि सम्पर्कविहीन भएका हुन् भन्नेबारे विस्तृत विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।