काठमाडौं ।
एसियाली विकास बैंक (एडिबी) ले नेपालको राजमार्ग विस्तार, सडक सुरक्षा तथा वन्यजन्तु संरक्षणका लागि ४७ अर्ब ८ करोड ५५ लाख रुपैयाँ बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ।
एडिबीका अनुसार उक्त रकमबाट पूर्व–पश्चिम राजमार्गको नारायणगढ–हेटौँडा खण्डको ७० किलोमिटर सडक दुई लेनबाट चार लेनमा विस्तार गरिनेछ। त्यस्तै, पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डको ८.७ किलोमिटर सडक पनि चार लेनमा स्तरोन्नति गरिनेछ।
आयोजनाअन्तर्गत चितवनको बरन्डाभार वन्यजन्तु मार्गमा वन्यजन्तुको आवागमन सहज बनाउन पूर्वाधार निर्माण गरिनेछ। साथै, बाढीपहिरोको जोखिम न्यूनीकरण, सडक तथा पुलको सुरक्षा सुधार र जलवायु परिवर्तनका असर सहन सक्ने संरचना निर्माणमा पनि लगानी गरिनेछ।
कुल सहयोगमध्ये २८५ मिलियन अमेरिकी डलर ऋण, २० मिलियन डलर अनुदान र ७ लाख ५० हजार डलर प्राविधिक सहायता रहेको छ। अनुदानबाट जैविक विविधता संरक्षण, दिगो पर्यटन विकास तथा महिलाका लागि जीविकोपार्जनका अवसर सिर्जना गर्ने कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
एडिबीका अनुसार आयोजनाले यातायात सम्पर्क सुधार गर्नुका साथै व्यापार, पर्यटन र क्षेत्रीय आर्थिक एकीकरणलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया