काठमाडौँ।
गोरखाको चुमनुव्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा बुढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढीले विभिन्न स्थानमा ठूलो भौतिक क्षति पुर्याएको छ।
बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, पक्की पुल, विद्युत् पोल, टेलिफोन टावर तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बाढीले न्याकचेत र माछिखोलाका पुल, आरुघाटस्थित पक्की पुल तथा सोतीको फलामे पुल बगाएको छ। धार्चे गाउँपालिकामा निर्माणाधीन ऊर्जा आयोजनाका संरचना र आसपासका घरसमेत बगाएको छ। माछिखोलाको तल्लो बस्तीका २० देखि २२ घर जोखिममा रहेका छन्।
बाढीका कारण दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत् पोलमा क्षति पुगेको छ भने बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र र निर्माण उपकरणसमेत बगाएको छ।
थप क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न तथा जोखिमयुक्त पुल र सडकबाट आवतजावत नगर्न आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालना गर्न अनुरोध गरिएको छ।













प्रतिक्रिया