काठमाडौं।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा राष्ट्रिय सिर्जनशील समाज, तारकेश्वर र कोमल प्राज्ञिक केन्द्र, बुढानीलकण्ठको संयुक्त आयोजना तथा काठमाडौं मोडेल अस्पताल, बागबजारको प्राविधिक सहयोगमा ‘मानसिक स्वास्थ्यः बुझाइदेखि समाधानसम्म’ विषयक अन्तरक्रिया कार्यक्रम गत शनिबार सम्पन्न भयो।
तारकेश्वर नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा नम्रता प्रधान, मनोसामाजिक विमर्शकर्ता, मनोविद्, मनोसमस्या व्यवस्थापनकर्ता विजया बिजुक्छे, समाजशास्त्री श्यामकुमार देवकोटा, नर्सिङ विशेषज्ञ सानु मल्ल, आचार्य गुरु रोहिणीराज तिमिल्सिना, ज्योतिषाचार्य डा। जनक भट्ट र योगाचार्य सिर्जना पौडेल रानालगायतका विशेषज्ञहरुबाट विषयगत प्रस्तुति गरिएको थियो। द्वितीय चरणमा मनको अवस्था विचलित भएको पहिचान अर्थात् मानसिक समस्याको शुरुवाती पहिचानमा नर्सिङ क्षेत्रको भूमिका, सामुदायिक नर्सिङ सेवाको विस्तार र मनोसामाजिक कार्यकर्ताहरुको भूमिका प्रमुख रहने कुरा छलफलबाट निष्कर्ष निकालिएको थियो।
तृतीय चरणमा चिकित्सकीय हस्तक्षेप जसमा चिकित्सकीय उपचार आवश्यक हुन्छ, विभिन्न मनोवैज्ञानिक थेरापीहरु आवश्यक हुन्छ। यस अवस्थामा एकीकृत मोडेलमा मनोचिकित्सक, मनोसामाजिक परामर्श, मानसिक स्वास्थ्यका नर्सिङ विशेषज्ञ, योगचिकित्सा आदिको महत्वपूर्ण समावेशी उपचारात्मक सेवाको भूमिका महत्वपूर्ण हुन्छ।
चतुर्थ चरण पुनर्स्थापना तथा स्वास्थ्य लाभको अवस्था हो। यहाँ समुदाय तहमा मनोसामाजिक समूहको सहयोग र आध्यात्मिक समूह तथा ज्योतिषीय पद्धतिहरुले विभिन्न वैदिक विधिहरु एस्तै सत्संग सञ्चालन, मन्त्र उच्चारण, ध्यान दैनिकी परिवर्तन, खानपान आदिको सुव्यवस्थाको भूमिका महत्वपूर्ण रहन्छ। यसरी सामाजिक संरचनात्मक एकीकृत समन्वयात्मक स्वास्थ्य प्रवर्द्धन पद्धतिको स्थानीय तहबाट विकास गरी लागू गर्ने हो भने समाजमा मानसिक स्वास्थ्य प्रबल बनाउन सकिन्छ भन्ने विज्ञहरुबाट निष्कर्ष निकालिएको थियो।
कार्यक्रममा मानसिक स्वास्थ्य भनेको के हो, मानसिक समस्या कसरी उत्पन्न हुन्छ, यसका लक्षण कसरी पहिचान गर्ने, समस्या देखिएमा कस्तो व्यवहार गर्ने, कससँग परामर्श लिने तथा आवश्यक उपचार र सहयोग कसरी प्राप्त गर्ने भन्ने विषयमा विज्ञहरूले आफ्ना अनुभव, ज्ञान र धारणा प्रस्तुत गरेका थिए। साथै, मानसिक स्वास्थ्यसम्बन्धी समाजमा विद्यमान भ्रम, गलत बुझाइ र विभेदपूर्ण व्यवहारलाई कसरी हटाउने तथा स्वस्थ समाज निर्माणका लागि व्यक्ति, परिवार, समुदाय, संघसंस्था र स्थानीय तहले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा समेत विमर्श गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं। २ का वडाध्यक्ष राधाकृष्ण खड्गी रहनुभएको थियो। कार्यक्रमको सञ्चालन तथा सहजीकरण राष्ट्रिय सिर्जनशील समाजका सचिव, शैक्षिक अभियन्ता एवं तालिम सहजकर्ता प्रकाश ढकालले गर्नुभएको थियो। उहाँले कार्यक्रम अत्यन्त उपयोगी र फलदायी रहेको उल्लेख गर्दै मानसिक स्वास्थ्यका विषयमा आफूले समेत धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो।
मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सबै पक्षले हातेमालो गरेर स्वस्थ व्यक्ति, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणमा योगदान दिनुपर्ने उहाँको धारणा थियो। त्यसै गरी, नर्सिङ विशेषज्ञ एवं काठमाडौं मोडेल अस्पतालकी नर्सिङ निर्देशक राधिका घिमिरेले कार्यक्रमको समग्र समीक्षा गर्दै मानसिक स्वास्थ्यलाई व्यक्तिगत समस्या वा कुनै एक पक्षको जिम्मेवारीका रूपमा मात्र लिन नहुने र एकीकृत दृष्टिकोणबाट हेर्दै सबैको साझा जिम्मेवारीका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।
अनुभवी व्यक्ति तथा विषयविज्ञका आवाज सुन्ने, उनीहरूका अनुभवबाट सिक्ने र समुदायस्तरमा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि कार्यलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो। यसका लागि स्थानीय तहमा मनोसामाजिक परामर्श तथा पुनःस्थापना केन्द्र स्थापना गरी मनोचिकित्सकको आवश्यक सेवा विस्तार गर्नुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी अतिथि तथा सहभागीहरूले यस प्रकारको अन्तरक्रिया अत्यन्त उपयोगी रहेको बताउँदै मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम वडा तथा टोलस्तरसम्म विस्तार गर्नुपर्ने औँल्याएका थिए। समाजमा विद्यमान गलत बुझाइ, भ्रम र विभेदपूर्ण व्यवहार हटाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले मानसिक स्वास्थ्यसम्बन्धी धेरै उपयोगी जानकारी प्राप्त गरेको बताउँदै यस्तो कार्यक्रम आयोजना गरी सहभागी हुने अवसर प्रदान गरेकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए।
मानसिक स्वास्थ्य सबैको साझा जिम्मेवारी हो। यसलाई लुकाउने, समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने वा अपमान गर्ने प्रवृत्तिको अन्त्य गर्दै खुलेर संवाद गर्ने, एकअर्काका कुरा सुन्ने, आवश्यक सहयोग तथा उपचारमा सहजीकरण गर्ने र मानसिक स्वास्थ्यप्रति संवेदनशील समाज निर्माण गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको हो।











प्रतिक्रिया