बुढीगण्डकीमा बाढी : ४० घर र दुई पक्की पुल बगायो


काठमाडौं ।

गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बुढीगण्डकी नदी थुनिएर आइतबार बिहान लेदोसहितको बाढी आएको छ। बाढीले गोरखाको उत्तरी क्षेत्र हुँदै धादिङसम्म असर पुर्‍याएको छ।बाढीका कारण करिब ४० घर र दुईवटा पक्की पुलसहितका संरचना बगाएको प्रारम्भिक विवरण छ।नेपाली सेनाका अनुसार बिहान ५ः५५ बजे बाढी आएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो। त्यसपछि सुरक्षा टोली परिचालन गरी प्रभावित क्षेत्रमा रेकी तथा खोज र उद्धार कार्य सुरु गरिएको थियो।

बिहान ६ः३६ बजे नेपाली सेनाको हेलिकप्टर खोज तथा उद्धारका लागि गोरखातर्फ उडेको थियो। बिहान ८ः३५ बजे चुमनुब्री–३ को जगत क्षेत्रबाट हेलिकप्टरमार्फत ६ जनाको उद्धार गरिएको थियो।बाढी बिहान ८ बजे गोरखाको आरुघाट र ९ः३० बजे धादिङको सल्यानटार पुगेको थियो। त्यसपछि धादिङको बेनीघाट क्षेत्रमा पनि बाढी पुगेको विवरण छ।प्रभावित क्षेत्रमा नेपाली सेनालगायत सुरक्षा निकायले उद्धार तथा राहत कार्यका लागि टोली परिचालन गरेका छन्।