बूढीगण्डकीमा बाढीको वितण्डा, पुल र घरमा क्षति


काठमाडौं ।

गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ को न्याकचेत–सिर्दिबास जोड्ने झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ को माछीखोला–केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। चुमनुब्री–३, सिर्दिबासमा एक घर बगाएको र अर्को घरमा बाढी पसेको छ।

त्यस्तै, धार्चे–५ को माछीखोलाको तल्लो बस्तीका ५ देखि ७ घर र त्यति नै संख्यामा टहरामा बाढी पसेको छ। धार्चे–३, सल्लेरीका २० देखि २२ घर जोखिममा रहेका छन्।

बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुलसमेत बगाएको छ। चुमनुब्री–३, सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका ७ देखि ८ घर बगाएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यस्तै, आरुघाट गाउँपालिका–९, नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। यसबाट उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

मन्त्रालयका अनुसार फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले तुलनात्मक रूपमा कम जोखिममा छन्। बाढीबाट उत्पन्न हुन सक्ने स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको छ।