ललितपुर ।
ललितपुर उद्योग वाणिज्य संघको ४७औँ वार्षिक साधारणसभा तथा निर्वाचन–२०८३ बाट भूमि नन्दन कर्माचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा ८६७ मत प्राप्त गर्दै कर्माचार्य संघको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन्।

संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनाबाट अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उद्योग, वाणिज्य तथा संस्थागत क्षेत्रका उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र कार्यसमिति सदस्यहरू चयन भएका छन्।
निर्वाचन परिणामअनुसार रूपकुमार शाक्यले ५७१, सजना श्रेष्ठ (नेम्कुल) ले ८७५, संजय अमात्य (श्रेष्ठ) ले ७९१, सुविन बज्राचार्यले ७५८ र मिलन शाक्यले ९२४ मत प्राप्त गरी विजय हासिल गरेका छन्।
त्यसैगरी शर्मिला श्रेष्ठ जोशीले ७१७, अनिल महर्जनले २७९, गंगा महर्जनले ३१०, दिनेशानन्द शाक्यले २८७, प्रविन बज्राचार्यले ३२२, रजना श्रेष्ठ जोशीले २९४ र सुविन मान जोशीले ३२७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
यसैगरी अनिल बज्राचार्यले ५५६, इच्छामान महर्जनले ४४६, उपेन्द्र लाखेले ५३७, प्रशम राज बज्राचार्यले ४६१, महेश्वरलाल खोंसीले ४६४, सानुमाया शाक्यले ४५० र सुरेश शाक्यले ४४२ मत प्राप्त गरी विजय हासिल गरेका छन्। रवि महर्जन भने निर्विरोध निर्वाचित भएका छन्।
विधानअनुसार विभिन्न क्षेत्रबाट कार्यसमिति चयन
संघको विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, उद्योग, वाणिज्य र संस्थागत क्षेत्रबाट एक–एक जना उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष तथा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी १५ जना कार्यसमिति सदस्य चयन गर्ने व्यवस्था छ।
कार्यसमिति सदस्यमा उद्योग क्षेत्रबाट छ जना, वाणिज्य क्षेत्रबाट सात जना, संस्थागत क्षेत्रबाट एक जना र एसोसिएट क्षेत्रबाट एक जना चयन हुने व्यवस्था रहेको छ। यस व्यवस्थाले संघमा आबद्ध विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
एसोसिएट उपाध्यक्ष पदमा भएन निर्वाचन
संघको विधानको दफा ६.३ मा रहेको उपाध्यक्ष (एसोसिएट) सम्बन्धी व्यवस्थाअनुसार उक्त पदमा भने निर्वाचन हुन सकेन। विधानको टिप्पणीमा कम्तीमा ५० वटा एसोसिएट सदस्य पुगेपछि मात्र उपाध्यक्ष पदको व्यवस्था हुने प्रावधान रहेकामा आवश्यक सदस्य संख्या नपुगेका कारण उक्त पदमा निर्वाचन नगरिएको जनाइएको छ।
व्यवसायीका हकहित संरक्षणमा नयाँ नेतृत्वको अपेक्षा
निर्वाचनबाट चयन भएको नयाँ नेतृत्वले ललितपुरका उद्योगी, व्यवसायी तथा उद्यमीका हकहित संरक्षण गर्नुका साथै व्यवसायमैत्री वातावरण निर्माण, स्थानीय उत्पादन तथा व्यापारको प्रवर्द्धन र संघको संस्थागत सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
स्थानीय उद्योग तथा व्यापार क्षेत्रको विकास, उद्यमशीलताको प्रवर्द्धन र व्यवसायीका साझा समस्याको समाधानका लागि संघले आगामी दिनमा थप सक्रिय भूमिका खेल्ने विश्वाससमेत गरिएको छ।











प्रतिक्रिया