बेनी–जोमसोम सडक ११ दिनपछि सञ्चालनमा

सोमवारदेखि सबैखाले सवारीसाधन चल्ने

0
Shares

म्याग्दी ।

बाढीपहिरोका कारण ११ दिनदेखि अवरुद्ध बनेको मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक पुनः सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ६ जोड्ने पोखरेबगरस्थित कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको क्षतिग्रस्त भाग मर्मत गरेपछि बिहीबार साँझदेखि सडक सञ्चालनमा आएको हो ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले पुलको पोखरेबगरतर्फको भाग कटान गरेको थियो । कालीगण्डकी नदीमा आएको तीव्र बहावका कारण पुलको करिब २० मिटर भाग बगाएपछि बेनी–जोमसोम सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो । पुलको कटान भएको क्षेत्रमा ग्याबिन जाली लगाएर ढुङ्गा–माटो भर्ने तथा सडकको सतह मिलाउने काम सम्पन्न गरेपछि हाल परीक्षणको रूपमा हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

बाढीपहिरोबाट क्षतिग्रस्त सडकको मर्मत, सतह मिलाउने, विभिन्न स्थानमा पहराको थप भाग कटिङ तथा सडक सुधारको काम भने जारी रहेको छ । बाँकी मर्मत कार्य पूरा गरी भोलि सोमवारदेखि सबै प्रकारका सवारीसाधनलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।

सडक सञ्चालनमा आएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङमा अवरुद्ध विद्युत् र टेलिफोन सेवासमेत चालु भएको छ । दशैँ नजिकिएसँगै डोल्पा, तिब्बत र मुस्ताङबाट ल्याइएका भेडा–च्याङ्ग्र्रा पनि बेनी–जोमसोम सडकमार्ग हुँदै बजारतर्फ आउन थालेका छन् । त्यस्तै, सडक अवरुद्ध हुँदा मुस्ताङको जोमसोममा रोकिएका लामो तथा छोटो दूरीका सवारीसाधनहरू गन्तव्यतर्फ लागेका छन् । मुस्ताङमा उत्पादित स्याउसमेत म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै देशका विभिन्न स्थानमा पठाउन थालिएको व्यापारीहरूले बताएका छन् ।

बाढीपहिरोका कारण पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको २०२ किलोमिटर सडकखण्डको ५५ स्थानमा पहिरो खसेको थियो । त्यस्तै, १० भन्दा बढी स्थानमा कालीगण्डकी नदीको कटानका कारण सडकको बेस नै बगेको थियो । बाढीपहिरोबाट बेनी–जोमसोम–कोरला सडकमा करिब ९० करोड रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल र चीनका बीच अन्य नाकाहरू बन्द रहेको अवस्थामा मुस्ताङको कोरला नाका सञ्चालनमा आए पनि बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधनहरू भन्सार क्षेत्रमा रोकिएका थिए । सडक अवरोधका कारण पर्यटकीय सिजनमा मुस्ताङ आउने पर्यटकहरू प्रभावित हुनुका साथै सोह्रश्राद्धका बेला कागबेनीमा श्राद्ध तथा पिण्डदान गर्न र मुक्तिनाथ दर्शनका लागि जाने तीर्थयात्रीहरूसमेत प्रभावित बनेका थिए ।
सडक पुनः सञ्चालनमा आएसँगै चाडपर्वका लागि भेडा–च्याङ्ग्र्रा तथा मुस्ताङी स्याउको ढुवानी सहज हुने अपेक्षा गरिएको छ । बेनी–जोमसोम सडकको केही स्थानमा नयाँ ट्र¥याकसमेत खोलिएको हुँदा सडकको अवस्थालाई मध्यनजर गरी ठूलासाना सवारीसाधनको आवजावतमा सहजीकरण गरिने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

उत्तरमा चीन र दक्षिणमा भारतलाई जोड्ने छोटो दूरीको महत्वपूर्ण मार्गका रूपमा रहेको बेनी–जोमसोम–कोरला सडक राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्दछ । यस सडकलाई गण्डकी प्रदेशको ‘लाइफलाइन’ अर्थात् भाग्यरेखाको रूपमा समेत लिने गरिन्छ । सडक पुनः सञ्चालनमा आएसँगै म्याग्दी र मुस्ताङमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । लामो समयदेखि सडक अवरुद्ध हुँदा प्रभावित बनेको पर्यटन तथा होटल व्यवसायसमेत चलायमान हुने भएपछि व्यवसायीहरू उत्साहित भएका छन् ।