बूढीगण्डकीमा भीषण बाढी : सल्लेरी बजार बगायो, जगतमा ठूलो क्षति


गोरखा ।

गोरखाको उत्तरी क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले चुमनुब्री गाउँपालिकास्थित सल्लेरी बजार बगाएको छ भने जगत बजारमा समेत व्यापक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। स्थानीयवासीका अनुसार नदीमा अचानक पानीको बहाव बढेपछि तटीय क्षेत्रका बस्ती तथा भौतिक संरचनामा क्षति पुगेको हो। बाढीको वास्तविक क्षति र प्रभावित परिवारको सङ्ख्याबारे भने विस्तृत विवरण आउन बाँकी छ।

छेकम्पारमा सुक्खा पहिरो, नदी थुनिएपछि बाढी आएको आशंका बाढी आउनुको सम्भावित कारण चुमनुब्री गाउँपालिका–७ स्थित छेकम्पार क्षेत्रमा गएको सुक्खा पहिरो रहेको अनुमान गरिएको छ। पहिरोका कारण स्यार खोला थुनिएपछि जमेको पानी एक्कासि खुलेर बाढी आएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, बाढीको यकिन कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहान नदीमा ठूलो आवाजसहित पानीको बहाव अप्रत्याशित रूपमा बढेको थियो। स्थानीयवासी विशाल घलेले पनि सल्लेरी बजार बगेको र जगत बजारमा ठूलो क्षति पुगेको जानकारी दिएका छन्।