काठमाडौं ।
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत शुक्रवार आगामी चार वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित हुनुभएको हो ।
कुल ७ हजार ३ सय १७ मतदाता रहेकोमा ७ हजार ३९ मत खसेको थियो भने ५४ मत बदर भएको थियो । खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले ६ हजार ५ सय ८४ मत अर्थात् ९३.८८ प्रतिशत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३ सय ७५ मत अर्थात ५.३५ प्रतिशत प्राप्त गर्दा ०.७७ प्रतिशत मत बदर भयो । यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्यसमितिको असहमतिबीच विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । त्यही कार्यसमितिले १५ औैं महाधिवेशन गराएको हो । सभापतिमा निर्वाचित भएपछि शनिवार पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताउँदै भन्नुभयो –‘तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ । यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ । यो परिवर्तनका लागि गरिएको विश्वास हो । यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छौैं ।’ विशेष महाधिवेशनपछि भएको १५ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइ थियो । अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जबाफदेहिता बढाउनुपर्नेमा सभापति थापाको जोड रहेको छ । उहाँले भन्नुभयो – ‘महाधिवेशनमा प्रतिस्पर्धा भयो । कोही जित्छौं, कोही हार्छाैं । यो कसैले विजय प्राप्त गर्ने र कसैले हार्ने विषय होइन । अब हामी सबै साथी मिलेर नागरिकको विश्वास जित्न जाने होे ।’
सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीलाई धन्यवाद दिँदै सभापति थापाले लोकतान्त्रिक अभ्यासले पार्टीलाई जीवन्त बनाउने बताउनुभयो । खड्गीसहित प्रतिस्पर्धामा रहेका सबैलाई सँगै लिएर अघि बढ्ने उहाँको भनाइ थियो ।
थापाले अहिले नागरिक र कांग्रेसबीचको विश्वास टुटेको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने जिकिर गर्दै किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्ने पार्टी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई फेरि कांग्रेसमा फर्कन र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो– ‘नयाँ इतिहास बनाउने तागत लिएर आएका छौं । बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ ।’
कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने बताउँदै उहाँले कानुन सबैका लागि समान हुन र कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने हुन्छ । उहाँले भन्नुभयो – ‘कांग्रेस गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन । कसैको पनि भारी कांग्रेसले बोक्दैन ।’
कांग्रेसलाई विगतमा व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठाएर सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि उहाँको जोड थियो । १५औैं महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाट परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको सभापति थापाको भनाइ थियो ।
पहिलो चरणमा उपसभापति र महामन्त्रीको मतगणना गर्ने तयारी गरिएको भए पनि सिल नगरिएको मतपेटिका भेटिएपछि भएको विवादले गर्दा सो कार्य प्रभावित भएको थियो । मतगणना पनि ढिला गरी सुरु भएको थियो ।











प्रतिक्रिया