काठमाडौं ।
नेपालीहरूको महान् पर्व बडादशैं आज घटस्थापनासँगै सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ११ बजेर ४७ मिनेटलाई घटस्थापनाको उत्तम साइत तोकेको छ ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको हो ।
घटस्थापनाका दिन घरघरमा विधिपूर्वक कलश स्थापना गरी जौ छरेर जमरा राख्ने परम्परा छ । नवरात्रभर दुर्गा भवानीका नौ स्वरूपको पूजा आराधना गरिन्छ । यसरी राखिएको जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गर्ने चलन छ ।
यस वर्षको विजयादशमीको टीका कात्तिक ४ गते परेको छ । समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ ।











प्रतिक्रिया