इजरायली स्वयंसेवकद्वारा काठमाडौं र ललितपुरका आठ विद्यालयमा शैक्षिक तथा भौतिक सुधार


काठमाडौं

इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ का ६० स्वयंसेवकले काठमाडौं र ललितपुरका आठ विद्यालयमा सिर्जनात्मक सिकाइ गतिविधि सञ्चालन गर्नुका साथै रङरोगन र भित्तेचित्र निर्माणमा सहयोग गरेका छन् । अघिल्लो महिना नेपाल आएका स्वयंसेवकले विद्यालयका विद्यार्थीहरूसँग विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गरेका थिए । उनीहरूले डाउन सिन्ड्रोम सोसाइटी नेपालमा दुई दिन बिताउँदै बालबालिकासँग अन्तरक्रिया गर्नुका साथै संस्थाको परिसरमा रङरोगन र मर्मतसम्भारमा समेत सहयोग गरेका थिए ।

काठमाडौंस्थित इजरायली दूतावासका अनुसार स्वयंसेवक दुई समूहमा नेपाल आएका थिए । पहिलो समूहले भदौ १९ देखि असोज १ गतेसम्म र दोस्रो समूहले असोज १२ देखि २२ गतेसम्म स्वयंसेवा गरेका थिए । उनीहरूले प्रभात माध्यमिक विद्यालय, हिन्दु विद्यापीठ, शान्ति शिक्षा मन्दिर, किटिनी माध्यमिक विद्यालय, अन्नपूर्ण माध्यमिक विद्यालय, नारायण जनमाध्यमिक विद्यालय, पञ्चायन सेलेस्टियल स्कुल र नन्दी रात्रि माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रम सम्पन्न भएपछि नेपालस्थित इजरायली दूतावासकी कार्यवाहक प्रमुख जनान बेबारले स्वयंसेवकहरूको सम्मानमा बिदाइ समारोह आयोजना गरिन् । उनले स्थानीय समुदायमा योगदान पुर्‍याउन स्वयंसेवकहरूले देखाएको प्रतिबद्धताको प्रशंसा गरिन् । ‘समाजलाई केही योगदान गर्ने भावना इजरायली संस्कृतिको अभिन्न अंग हो,’ उनले भनिन्, ‘नेपालमा स्वयंसेवा गरेर तिमीहरूले यो भावनालाई व्यवहारमा उतारेका छौ । विद्यालय र स्थानीय समुदायमा अर्थपूर्ण योगदान दिनुका साथै दुई देशबीचको मैत्री सम्बन्धलाई पनि बलियो बनाएका छौ ।’

‘हिरोज फर लाइफ’ले सन् २०१७ देखि नेपालमा स्वयंसेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले हरेक वर्ष नयाँ स्वयंसेवक टोली परिचालन गरी पुरानै विद्यालयमा कार्यक्रमलाई निरन्तरता दिनुका साथै थप विद्यालयमा सेवा विस्तार गर्दै आएको जनाएको छ । कार्यक्रम नेपालस्थित इजरायली दूतावाससँगको समन्वयमा सञ्चालन हुँदै आएको छ । विश्वका १८ देशमा सक्रिय संस्थाले सैनिक सेवा पूरा गरेपछि यात्रा गर्ने इजरायली युवालाई आफू पुगेका समुदायमा स्वयंसेवामार्फत योगदान गर्न प्रेरित गर्दै आएको छ ।