लमजुङ।
स्वर्गीय भतिजको स्मृतिमा बेलायतमा बस्दै आएका नारायण आलेले प्रदेश अस्पताल लमजुङलाई ह्वीलचेयर र ब्ल्यांकेट सहयोग गरेका छन् । बेसीशहर नगरपालिका–६, चनौटे घर भई हाल बेलायतको अल्डरशटमा बस्दै आएका आलेले आफ्ना स्वर्गीय भतिज विकास आलेको सम्झनामा अस्पतालको डायलाइसिस वार्डका लागि तीनवटा ह्वीलचेयर र १० थान ब्ल्यांकेट प्रदान गरेका हुन् ।
मिर्गौलासम्बन्धी रोगका कारण २०७६ सालमा २३ वर्षको उमेरमा विकासको निधन भएको थियो । भतिजको निधनपछि डायलाइसिस सेवा लिन अस्पताल आउने बिरामीलाई सहयोग पुग्ने उद्देश्यले सामग्री उपलब्ध गराएको नारायणले बताए ।
शुक्रबार आयोजित कार्यक्रममा उनले २५ हजार ५ सय रुपैयाँ बराबरका तीनवटा ह्वीलचेयर र १२ हजार रुपैयाँ बराबरका १० थान ब्ल्यांकेट गरी कुल ३७ हजार ५ सय रुपैयाँ बराबरको सामग्री अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
सामग्री ग्रहण गर्दै प्रदेश अस्पताल लमजुङका प्रमुख तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिशिर देवकोटाले सहयोगले डायलाइसिस गराउन आउने बिरामीलाई सहज हुने बताए । यस्ता सहयोगले अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने उनको भनाइ छ ।
डा. देवकोटाका अनुसार प्रदेश अस्पताल लमजुङले विगत चार वर्षदेखि डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ । हालसम्म ६० जनाभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको अस्पतालमा १३ वटा डायलाइसिस मेसिन रहेका छन् । अस्पतालले साताको सातै दिन डायलाइसिस सेवा दिँदै आएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा वरिष्ठ नर्सिङ अधिकृत अञ्जना पौडेल, अस्पताल व्यवस्थापक प्रमिला ढकाल, सूचना अधिकारी अनिल रेग्मी र इमर्जेन्सी इन्चार्ज गणेश गुरुङलगायतको सहभागिता थियो ।











प्रतिक्रिया