उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पस गाईघाटको क्याम्पस सभा तथा १७ औँ वार्षिक साधारण सोमबार क्याम्पस परिसरमा सम्पन्न भएको छ । क्याम्पसका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका पूर्व नगरप्रमुख बलदेव चौधरीको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो । क्याम्पसको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले गर्नुभएको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले स्नातक तहको शिक्षाको गन्तव्यका रूपमा विकास हुँदै गएको बरुवा क्याम्पसलाई कोशी प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग जुटाउन आफू सक्रिय रहने बताउनुभयो । सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पसले खेलेको भूमिका अतुलनीय रहेको उहाँको भनाइ थियो । साधारण सभामा कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बलदेव चौधरी, क्याम्पस सभा सदस्य, शिक्षाप्रेमी, पत्रकार, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सभाले आगामी आर्थिक वर्षका लागि क्याम्पसको बजेट तथा विभिन्न शैक्षिक कार्यक्रमसमेत स्वीकृत गरेको क्याम्पस प्रमुख भीमबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार विकास तथा विद्यार्थीलाई थप अवसर उपलब्ध गराउने विषयलाई आगामी कार्यक्रमको प्राथमिकतामा राखिएको छ । क्याम्पसले आगामी दिनमा शैक्षिक कार्यक्रम विस्तार गर्ने तयारीसमेत गरेको छ । व्यवस्थापन तथा शिक्षा शास्त्रका कार्यक्रम सञ्चालन गर्दै आएको क्याम्पसले बीआईटी, बीबीए, सिभिल इन्जिनियरिङ तथा बीएडमा सामाजिक विषय थप गर्ने योजना अघि सारेको छ । नयाँ कार्यक्रम सञ्चालनसँगै स्थानीय तथा आसपासका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका थप अवसर उपलब्ध हुने क्याम्पसको अपेक्षा छ ।
क्याम्पस सञ्चालन तथा शैक्षिक गतिविधि विस्तारमा विश्वविद्यालय अनुदान आयोग, कोशी प्रदेश सरकार र त्रियुगा नगरपालिकाबाट प्राप्त हुँदै आएको अनुदान तथा सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको क्याम्पसले जनाएको छ । विभिन्न निकायबाट प्राप्त सहयोगका कारण शैक्षिक कार्यक्रम सञ्चालन, भौतिक पूर्वाधार व्यवस्थापन तथा प्रशासनिक कार्यलाई सहज बनाउन सहयोग पुगेको क्याम्पसको भनाइ छ । बरुवा क्याम्पस गाईघाट स्नातक तहको शिक्षा सर्वसुलभ तथा गुणस्तरीय रूपमा उपलब्ध गराउने उद्देश्यले स्थानीय शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा अभिभावकको सामूहिक प्रयासमा स्थापना भएको सामुदायिक क्याम्पस हो ।
वि.सं. २०६६ सालमा स्थापना भएको क्याम्पसले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी शैक्षिक, आर्थिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्दै आएको छ । स्थापनाका बेला व्यवस्थापन संकायमा सीमित विद्यार्थीबाट सुरु भएको क्याम्पसमा हाल शिक्षा शास्त्र र व्यवस्थापन संकायअन्तर्गत करिब ३५० विद्यार्थी अध्ययनरत छन् । क्याम्पसका अनुसार शिक्षा शास्त्रतर्फ करिब १८० र बीबीएसतर्फ करिब १७३ विद्यार्थी रहेका छन् । दक्ष, योग्य तथा अनुभवी प्राध्यापकमार्फत नियमित पठनपाठन सञ्चालन हुँदै आएको क्याम्पसले सैद्धान्तिक शिक्षासँगै प्रयोगात्मक तथा व्यावहारिक सिकाइमा समेत जोड दिँदै आएको छ ।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, अन्तरक्रिया, छलफल तथा शैक्षिक भ्रमण सञ्चालन गर्ने गरिएको छ । वार्षिक परीक्षाअघि एकाइ तथा चौमासिक परीक्षा सञ्चालन गरी विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन गर्ने अभ्याससमेत क्याम्पसले गर्दै आएको जनाएको छ । देशको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने, विद्यार्थीको ज्ञान, सीप, कला, साहित्य, भाषा तथा व्यावसायिक क्षमताको विकास गर्ने र सक्षम नागरिक निर्माणमा योगदान पुर्याउने उद्देश्यसहित क्याम्पसले आफ्नो शैक्षिक गतिविधिलाई विस्तार गर्दै आएको छ । आगामी दिनमा नयाँ शैक्षिक कार्यक्रम थप गर्दै गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्य क्याम्पसले लिएको छ .











प्रतिक्रिया