नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठ विशेष समारोहद्वारा मनाइयो

रुसी उपविदेशमन्त्री रुडेन्कोद्वारा सहकार्य विस्तारको प्रतिबद्धता व्यक्त


काठमाडौं

रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले नेपाल र रुसबीचको सम्बन्ध सात दशकदेखि आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहँदै आएको बताए। उनले शिक्षा, पर्यटन, व्यापार, संस्कृति तथा मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्य विस्तारका लागि रुस प्रतिबद्ध रहेको बताए। नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा रुसी दूतावासले बुधबार काठमाडौंमा विशेष स्वागत समारोहलाई सम्बोधन गर्दै उनले नेपालको विकासमा सहयोग गर्न रुस तयार रहेको बताएका हुन्।

रुडेन्कोले नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठ दुवै देशका लागि विशेष अवसर भएको बताउँदै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय राजनीतिक संवाद र जनस्तरको सम्पर्कलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले आठ वर्षपछि नेपाल–रुस द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न भएको र त्यसले सम्बन्धलाई थप गति दिने विश्वास व्यक्त गरे।

समारोहमा परराष्ट्रमन्त्री सुधन गुरुङले पनि उपस्थिति जनाएका थिए। कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, पूर्वमन्त्री, सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

समारोहमा परराष्ट्र मन्त्रालयका युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल र नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभत्सेभ पनि नेपाल–रुस सम्बन्धका विविध आयामहरूमा प्रकाश पारेका थिए।

यसअघि काठमाडौंमा सम्पन्न नेपाल–रुस द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव अमृतबहादुर राई तथा रुसी प्रतिनिधिमण्डलको नेतृत्व उपविदेशमन्त्री रुडेन्कोले गरेका थिए। बैठकमा व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति, जलवायु परिवर्तन तथा अन्य आपसी हितका विषयमा छलफल भएको थियो।

सन् १९५६ जुलाई २० मा नेपाल र तत्कालीन सोभियत संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता शिक्षा, पूर्वाधार विकास, प्राविधिक सहयोग, सांस्कृतिक आदानप्रदान तथा मानव संसाधन विकासका क्षेत्रमा दुई देशबीच सहकार्य हुँदै आएको छ। नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा यस वर्ष काठमाडौंमा विभिन्न कूटनीतिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू आयोजना भइरहेका छन्।