मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मलहोत्रा


काठमाडौं ।

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मलहोत्रा चयन भएका छन्। एशोसिएसनको दशौँ वार्षिक साधारण सभाले मलहोत्राको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो।

साधारण सभाको प्रारम्भमा अध्यक्ष दिपक कुमार मलहोत्राले उपस्थित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत गरेका थिए। त्यसपछि उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको वार्षिक कार्यप्रगति विवरण तथा कोषाध्यक्ष प्रभाकर शम्शेर थापाले वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए।

सभामा सदस्यहरूले एशोसिएसनको कार्यसम्पादन, मोबाइल फोन व्यवसायमा देखिएका समसामयिक चुनौती, व्यवसायीका साझा समस्या तथा आगामी कार्यदिशाका विषयमा आफ्ना धारणा, सुझाव र विचार राखेका थिए।

साधारण सभापछि भएको निर्वाचनबाट नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा र कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भएका छन्। त्यस्तै, सञ्चालक सदस्यमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा चयन भएका छन्।

निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष मलहोत्राले एशोसिएसनलाई सर्वसम्मत रूपमा नयाँ नेतृत्व प्रदान गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा पदाधिकारीप्रति आभार व्यक्त गरे। उनले मोबाइल फोन व्यवसायलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउन तथा व्यवसायीका साझा समस्या समाधानका लागि सरकारी निकाय र सम्बन्धित सरोकारवालासँग प्रभावकारी समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

त्यस्तै, नवनिर्वाचित उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको संस्थागत सुदृढीकरणसँगै मोबाइल फोन व्यवसायको दिगो विकास र व्यवस्थित बजार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

उनका अनुसार मोबाइल फोनको वितरण प्रणाली तथा बजार व्यवस्थापनमा सुधार, अवैध पैठारी अर्थात् ‘ग्रे मार्केट’ नियन्त्रण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को प्रभावकारी प्रवर्द्धन, छाता संगठनसँग समन्वय तथा सहकार्य, व्यवसायीको हकहित संरक्षण र उपभोक्ता हित प्रवर्द्धन एशोसिएसनका प्रमुख प्राथमिकता रहनेछन्।

व्यवसाय क्षेत्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्र, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालाबीचको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै मोबाइल फोन व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन एशोसिएसनले सक्रिय भूमिका निर्वाह गर्ने अग्रवालले बताए।