काठमाडौँ ।
नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन कार्यक्रम ‘कृति इग्नाइट’ भव्यताका साथ सम्पन्न गरेको छ।




सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विज्ञापन तथा आमसञ्चार क्षेत्रका विज्ञ, उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पानसमा बत्ती बालेर कृति अवार्ड्सको औपचारिक शुभारम्भ गरिएको हो।




यस वर्षको कृति अवार्ड्सलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श तथा विज्ञापन बोर्डले समर्थन गरेका छन्। ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, अकोर्राब, रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्स नेपाल सह–आयोजकका रूपमा सहभागी भएका छन्।




यस संस्करणमा आनका गैर–सदस्यहरूका लागि समेत मनोनयन खुला गरिएको छ। आयोजकका अनुसार यस पहलले कृति अवार्ड्सलाई थप समावेशी बनाउँदै नेपालको विज्ञापन तथा आमसञ्चार क्षेत्रमा सहकार्य र नेतृत्वलाई विस्तार गर्नेछ।



कार्यक्रममा नेपाली विज्ञापन तथा आमसञ्चार क्षेत्रको विकासक्रम झल्काउने अडियो–भिजुअल प्रस्तुत गरिएको थियो। कार्यक्रममा आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका प्रवर्द्धक भास्करराज राजकर्णिकार, सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल, विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए। आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गरेका थिए।











प्रतिक्रिया