मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामको वर्तमान दृश्यले प्रदेशको स्वास्थ्य सेवाको वास्तविक अवस्था उजागर गर्छ । उपचारका लागि दैनिक १ हजार ५ सयदेखि १ हजार ७ सय जनासम्म बिरामी पुग्ने अस्पतालमा ३ सयदेखि ३ सय ५० हाराहारी मात्र बेड हुनु आफैंमा ठूलो चुनौती हो । बिरामीको चाप निरन्तर बढिरहेको छ तर त्यसअनुसार पूर्वाधार, बेड, दक्ष जनशक्ति, उपकरण र आर्थिक स्रोत विस्तार हुन सकेको छैन । यस्तो अवस्थामा अस्पताल प्रशासनमाथि मात्र सेवा व्यवस्थापनको प्रश्न उठाउनु न्यायोचित हुँदैन ।
अस्पताल सर्वसाधारणको प्रत्यक्ष पहुँचमा रहेको प्रमुख स्वास्थ्य संस्था हो । सेवा लिन आउने नागरिकको संख्या बढ्नु अस्पतालप्रतिको विश्वासको एउटा संकेत पनि हो । तर बढ्दो मागअनुसार सेवा क्षमता विस्तार हुन नसक्दा त्यही विश्वास व्यवस्थापकीय दबाबमा परिणत भएको छ । टिकट काट्नेदेखि चिकित्सकलाई देखाउने, प्रयोगशाला, एक्सरे, अल्ट्रासाउन्डलगायत सेवाका लागि छुट्टाछुट्टै लाइन बस्नुपर्ने बाध्यता बिरामीका लागि थप पीडादायी बनेको छ । ज्येष्ठ नागरिक, दीर्घरोगी, नियमित फलोअपमा आउने बिरामी तथा उनीहरूका कुरुवाले झेल्नुपर्ने कठिनाइ अझ गम्भीर छ । एकद्वारबाट सबै काम गर्न उपकरण, दक्ष जनशक्ति भौतिक संरचना हुनुपर्छ ।
अस्पतालमा सबैभन्दा बढी दबाब सघन उपचार कक्षमा देखिन्छ । हाल १० वटा आईसीयू र आठवटा एनआईसीयू बेडबाट बढ्दो आवश्यकता धान्न कठिन भइरहेको छ । बेड नहुँदा पनि गम्भीर बिरामीका लागि स्थान मिलाउनुपर्ने अवस्था आउनु स्वास्थ्य सेवाको संवेदनशीलता हो । यहाँ पहुँच र प्रभावका आधारमा नभई आवश्यकता र चिकित्सकीय प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउने प्रणालीलाई अझ बलियो बनाउनुपर्छ । त्यसका लागि अस्पताल व्यवस्थापनलाई आवश्यक स्रोत, अधिकार र संरचना उपलब्ध गराउनु राज्यको दायित्व हो ।
अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहले भनेजस्तै जनता बचाउन दक्ष जनशक्ति, आवश्यक उपकरण र पर्याप्त भौतिक संरचना अनिवार्य हुन्छ । तर अस्पतालको बढ्दो सेवाभारअनुसार सरकारले आवश्यक दक्ष जनशक्तिको दरबन्दी दिन सकेको छैन । चिकित्सक, एनेस्थेसिस्ट, सर्जन, नर्स तथा अन्य स्वास्थ्यकर्मीको अभाव हुँदा उपलब्ध जनशक्तिमाथि थप भार पर्नु स्वाभाविक हो । जनशक्ति अभावलाई केवल अस्पतालको व्यवस्थापकीय कमजोरीका रूपमा हेर्न मिल्दैन ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अंकुर शाहले यही अस्पतालमा जन्मिएर अहिले यसको सुधार र विकासको जिम्मेवारी पाउनु संस्थासँगको भावनात्मक सम्बन्ध मात्र होइन, परिवर्तनको अवसर पनि हो । पछिल्ला वर्षमा अस्पतालमा सुधारका प्रयास भएका छन् । तर प्रारम्भिक सुधारमै सन्तुष्ट हुने अवस्था छैन । जीर्ण भवन संरचनाको पुनर्निर्माण, आवश्यकताअनुसार बेड विस्तार, आईसीयू तथा एनआईसीयू क्षमता वृद्धि, आधुनिक उपकरणको व्यवस्था र बिरामी कुरुवा घर निर्माण तत्काल प्राथमिकतामा राखिनुपर्छ ।
त्यससँगै डिजिटल दर्ता, फलोअप व्यवस्थापन, एकीकृत बिरामी अभिलेख र तथ्याङ्क प्रणाली विकास गर्न आवश्यक छ । यसले बिरामीको वास्तविक चाप पहिचान गर्न र उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न मद्दत पु¥याउनेछ । जनकपुरधामको यो अस्पताल प्रदेशको मात्र होइन, ठूलो जनसंख्याले भरोसा गरेको स्वास्थ्य संस्था हो । त्यसैले यसको विकासको जिम्मेवारी प्रतिष्ठान वा प्रदेश सरकारमा मात्र सीमित राखिनुहुँदैन । संघीय सरकारले आवश्यक बजेट, दरबन्दी, उपकरण र पूर्वाधार विकासमा ठोस सहयोग गर्नुपर्छ । बिरामीको बढ्दो चापलाई समस्याका रूपमा मात्र होइन, स्वास्थ्य सेवाको माग बढिरहेको संकेतका रूपमा बुझेर राज्यले त्यसअनुसार आफ्नो लगानी र क्षमता विस्तार गर्नुपर्छ । जनताको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य संस्थालाई स्रोतको अभावमा दबिन दिनु राज्यका लागि स्वीकार्य हुनुहुँदैन ।











प्रतिक्रिया