काठमाडौं।
विश्वभर बालबालिका तथा किशोरकिशोरीमा मोटोपनको समस्या तीव्र रूपमा बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलोपटक यस उमेर समूहका लागि विशेष उपचार निर्देशिका जारी गरेको छ। डब्लुएचओले मोटोपन नियन्त्रणमा औषधि वा शल्यक्रियाभन्दा स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनलाई पहिलो प्राथमिकतामा राखेको छ।
डब्लुएचओका अनुसार सन् २०२४ मा विश्वभर ५ देखि १९ वर्ष उमेर समूहका करिब १७ करोड बालबालिका तथा किशोरकिशोरी मोटोपनसहित बाँचिरहेका थिए। तीमध्ये करिब ७ करोड ५ देखि ९ वर्ष उमेरका बालबालिका र १० करोड १० देखि १९ वर्ष उमेरका किशोरकिशोरी रहेका छन्।
तीन दशकभन्दा बढी अवधिमा बालबालिका तथा किशोरकिशोरीमा मोटोपनको दर झन्डै चार गुणाले बढेको डब्लुएचओले जनाएको छ। सन् १९९० मा ५ देखि १९ वर्ष उमेर समूहमा मोटोपनको दर करिब २ प्रतिशत रहेकामा सन् २०२४ मा बढेर ८ प्रतिशत पुगेको छ।
डब्लुएचओले नयाँ निर्देशिकामार्फत बालबालिका तथा किशोरकिशोरीमा मोटोपनलाई केवल तौल घटाउने विषयका रूपमा नभई दीर्घकालीन स्वास्थ्यसँग जोडिएको समस्याका रूपमा हेर्नुपर्नेमा जोड दिएको छ। मोटोपनको व्यवस्थापन गर्दा बालबालिकाको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य, कार्यक्षमता र समग्र जीवनस्तरमा सुधार ल्याउने लक्ष्य राख्नुपर्ने निर्देशिकामा उल्लेख छ।
औषधिभन्दा जीवनशैली परिवर्तन
नयाँ निर्देशिकाले मोटोपन भएका बालबालिका तथा किशोरकिशोरीका लागि संरचित स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र व्यवहार परिवर्तनका कार्यक्रम सञ्चालन गर्न सिफारिस गरेको छ।
यस्ता कार्यक्रम व्यक्तिगत रूपमा सञ्चालन गर्न सकिने भए पनि खानपान, शारीरिक गतिविधि र व्यवहार परिवर्तनलाई एकीकृत रूपमा अघि बढाउँदा बढी प्रभावकारी हुने डब्लुएचओको भनाइ छ। डिजिटल स्वास्थ्य सेवामार्फत गरिने हस्तक्षेपलाई पनि सशर्त रूपमा प्रयोग गर्न सकिनेछ। तर बालबालिकाका लागि डिजिटल माध्यमबाट गरिने कार्यक्रम अभिभावक वा हेरचाहकर्ताको निगरानीमा हुनुपर्नेछ।
डब्लुएचओको पोषण तथा खाद्य सुरक्षा विभागकी निर्देशक डा. लुज मारिया डे रेगिलले बालबालिका तथा किशोरकिशोरीमा मोटोपनको उपचारको आधार औषधि वा शल्यक्रिया नभएको बताएकी छन्। उनका अनुसार बालबालिका र परिवारलाई स्वस्थ खानपान, पर्याप्त शारीरिक गतिविधि तथा दिगो व्यवहार परिवर्तनका लागि आवश्यक सहयोग उपलब्ध गराउनु नै उपचारको मुख्य आधार हो।
१० वर्षमुनिका बालबालिकालाई औषधि नदिन सिफारिस
डब्लुएचओले जन्मेदेखि ९ वर्षसम्मका बालबालिकामा मोटोपन घटाउन औषधि, तौल घटाउने शल्यक्रिया वा तौल घटाउने उपकरण प्रयोग नगर्न स्पष्ट सिफारिस गरेको छ।
१० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीमा भने विशेषज्ञको निगरानीमा सञ्चालन गरिएको जीवनशैली सुधार कार्यक्रमले अपेक्षित परिणाम दिन नसकेको अवस्थामा मात्र स्वीकृत औषधिको प्रयोगबारे विचार गर्न सकिने निर्देशिकामा उल्लेख छ।
त्यस्तै गम्भीर मोटोपन भएका किशोरकिशोरीमा निश्चित चिकित्सकीय मापदण्ड पूरा भएको अवस्थामा तौल घटाउने शल्यक्रियाबारे विचार गर्न सकिने डब्लुएचओले जनाएको छ। तर यस्तो उपचारलाई सामान्य विकल्पका रूपमा नभई आवश्यक अवस्थामा विशेषज्ञको मूल्याङ्कनपछि मात्र प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ।
मोटोपनसँगै मानसिक स्वास्थ्यमा ध्यान
मोटोपन भएका बालबालिका तथा किशोरकिशोरीमा शारीरिक समस्यासँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि देखिन सक्ने भएकाले उपचारमा मानसिक स्वास्थ्यलाई समेत समेट्न डब्लुएचओले आग्रह गरेको छ।
मोटोपनसँगै चिन्ता, डिप्रेसन, आत्मसम्मानमा कमी तथा भावनात्मक समस्या देखिन सक्ने डब्लुएचओले जनाएको छ। मोटोपन भएका बालबालिका तथा किशोरकिशोरीले विद्यालय तथा सामाजिक परिवेशमा बुलिङ, विभेद र अपमानसमेत सामना गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले उनीहरूलाई मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्ने निर्देशिकामा उल्लेख छ।
डब्लुएचओले मोटोपनको उपचार गर्दा बालबालिकालाई दोष लगाउने वा तौलका आधारमा कलंकित गर्नेभन्दा परिवार, विद्यालय, स्वास्थ्य संस्था र समुदायको संयुक्त सहयोग आवश्यक रहेकोमा जोड दिएको छ।
स्वस्थ खाना र खेल्ने वातावरण बनाउन सरकारलाई आग्रह
डब्लुएचओले मोटोपनको उपचारसँगै यसको रोकथामका लागि स्वस्थ खाना र शारीरिक गतिविधि सहज तथा किफायती हुने वातावरण निर्माण गर्न सरकारहरूलाई आग्रह गरेको छ।
बालबालिकाको खानपान र शारीरिक गतिविधि स्वास्थ्य मन्त्रालयको मात्र विषय नभएको भन्दै डब्लुएचओले शिक्षा, सहरी योजना, यातायात र सामाजिक सुरक्षालगायतका क्षेत्रमा समेत समन्वित नीति आवश्यक रहेको जनाएको छ।
बालबालिकालाई पर्याप्त खेल्ने तथा शारीरिक गतिविधि गर्ने सुरक्षित स्थान उपलब्ध गराउने, स्वस्थ खानालाई सहज र किफायती बनाउने तथा अस्वस्थ खानाको पहुँच र प्रवर्द्धनलाई नियन्त्रण गर्नेसहितका उपाय मोटोपन रोकथामका लागि महत्वपूर्ण हुने डब्लुएचओको भनाइ छ।
बाल्यकालमै मोटोपनको रोकथाम र प्रभावकारी व्यवस्थापन गर्न सके भविष्यमा टाइप–२ मधुमेह, मुटुसम्बन्धी रोगलगायत दीर्घकालीन नसर्ने रोगको जोखिमसमेत घटाउन सकिने डब्लुएचओले जनाएको छ।
नयाँ निर्देशिकाले बाल्यकालदेखि किशोरावस्था हुँदै वयस्क अवस्थासम्म मोटोपनको रोकथाम, उपचार र व्यवस्थापनलाई निरन्तर रूपमा अघि बढाउने ‘लाइफ–कोर्स’ दृष्टिकोणलाई प्राथमिकता दिएको छ। यसले मोटोपनलाई तत्काल तौल घटाउने विषयभन्दा पनि जीवनभरको स्वास्थ्यसँग जोडेर व्यवस्थापन गर्नुपर्ने सन्देश दिएको छ।











प्रतिक्रिया