अक्षरामा न्यान्सीको पीडा


सामाजिक कथाको फिल्म अक्षराको स्याड सङ सार्वजनिक गरिएको छ। भोलि शुक्रबार रिलिजमा आउने फिल्मको भाग्यले हो कि बोलको गीत सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारीलाई भावनात्मक अवस्थामा प्रस्तुत गरिएको छ। भाग्यले हो कि मलाई जिन्दगीले ढा“ट्यो भन्दै न्यान्सीको चरित्र पीडामा देखाइएको छ। भिडियोमा सुशील र रिस्ता पनि भावुक अवस्थामा देखिएका छन्। गीतमा प्रस्तुत घटनाक्रम र पात्रहरूको अवस्थाको वास्तविकता भने फिल्म प्रदर्शनपछि मात्रै खुल्नेछ।

रचना रिमालको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको संगीत छ। गीतको कोरियोग्राफी रामजी लानिछानेले गरेका छन्। विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा), सृष्टि खड्का, बालकलाकार रोनक खड्का, प्रीसा ढुंगानालगायतले अभिनय गरेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाद्वारा निर्मित तथा सोनी थापा (ढुंगाना) द्वारा प्रस्तुत फिल्ममा उग्रसेनको लेखन, अभिमन्यु निरवी र निर्देशक पौडेलको पटकथा र संवाद, दिपेन बस्न्यातको छाया“कन र गौतम खड्काको सम्पादन रहेको छ।
सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेको फिल्म नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले नेपालभर वितरणको जिम्मेवारी लिएका छन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।