काठमाडौँ ।
नेपालमा स्क्रब टाइफसको संक्रमण देशका अधिकांश जिल्लामा फैलिएको छ । सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना स्क्रब टाइफस संक्रमित भएको विवरण प्राप्त भएको छ । संक्रमितमध्ये सात जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
संक्रमण देशभर फैलिँदै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र जोखिम सञ्चारका गतिविधि तीव्र बनाएको जनाएको छ । महाशाखाले असारदेखि नै सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणका विषयमा समन्वय गर्दै आएको जनाएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको वार्षिक प्रतिवेदनले भने नेपालमा स्क्रब टाइफसको समस्या पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढेको देखाएको छ । आर्थिक वर्ष २०७९÷८० मा ९ हजार २४३ जनामा भएकामा २०८१÷८२ मा यो संख्या बढेर २५ हजार ४९४ पुगेको छ । अर्थात् तीन वर्षको अवधिमा सरकारी प्रणालीमा रिपोर्ट भएका संक्रमितको संख्या झन्डै तीन गुणा बढेको छ ।
स्क्रब टाइफस नेपालमा प्रमुख जनस्वास्थ्य चिन्ताका रूपमा देखा परेको छ । प्रतिवेदनमा संक्रमणको भार विशेषगरी लुम्बिनी प्रदेशमा बढी देखिएको उल्लेख छ । त्यस्तै सन् २०२५ मा पनि ठूलो संख्यामा संक्रमण रिपोर्ट भएको जनाइएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीले रोगको निगरानी विस्तार गर्दै डिजिटल प्रणालीबाट समेत केस अभिलेखीकरण गरिरहेको छ ।
स्क्रब टाइफसको संक्रमितको विवरणले रोगको भौगोलिक विस्तारलाई समेत गम्भीर रूपमा लिनुपर्ने देखिएको छ । देशका ७४ जिल्लामा संक्रमण देखिनुका कारण अब स्क्रब टाइफसलाई केही निश्चित भूगोल वा ग्रामीण क्षेत्रको मात्र रोगका रूपमा हेर्न नहुने स्वास्थ्य अधिकारीहरूको बुझाइ छ । स्थानीय तहका स्वास्थ्य संस्थामा रोग पहिचान गर्ने क्षमता, आवश्यक परीक्षण किट र औषधिको निरन्तर उपलब्धता तथा स्वास्थ्यकर्मीलाई नियमित तालिम दिनुपर्ने आवश्यकता देखिएको छ ।
सरकारले परीक्षण किट र औषधी व्यवस्थापनसँगै निगरानी प्रणाली विस्तार गरेको जनाएको छ । तर १० हजारभन्दा बढी संक्रमित र सात जनाको मृत्युको पछिल्लो तथ्यांकले रोग देखिएपछि उपचार गर्नेभन्दा संक्रमण हुन नदिने जनस्वास्थ्य रणनीति अझ प्रभावकारी बनाउनुपर्ने संकेत गरेको छ ।
के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो । संक्रमित लार्भा माइट (चिगर) ले टोकेपछि मानिसमा यसको संक्रमण हुन्छ । नेपाल सरकारले जारी गरेको ‘स्क्रब टाइफसको निदान, उपचार तथा रोकथामसम्बन्धी राष्ट्रिय निर्देशिका’ले पनि संक्रमित माइटलाई यसको प्रमुख प्रसारण माध्यम मानेको छ ।
यो रोग मानिसबाट मानिसमा सामान्य सम्पर्क, हात मिलाउँदा वा एउटै भाँडामा खाना खाँदा सर्दैन । खेतबारी, घाँसे मैदान, झाडी तथा वनस्पतिले ढाकिएका क्षेत्रमा संक्रमित माइटको सम्पर्कमा आउँदा जोखिम बढ्छ । त्यसैले खेतबारी वा वन क्षेत्रमा काम गर्ने तथा घाँस काट्ने व्यक्तिमा संक्रमणको सम्भावना बढी हुन्छ ।
स्क्रब टाइफसका लक्षण सामान्य ज्वरोसँग मिल्दोजुल्दो हुन्छ । उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, अत्यधिक कमजोरी, पेट दुख्ने, वाकवाकी र बिमिरा आउनेजस्ता लक्षण देखिन सक्छन् । माइटले टोकेको स्थानमा कालो डाम वा घाउसमेत देखिन सक्छ । समयमै उपचार नभए फोक्सो, मिर्गौला र मस्तिष्कमा असर पुगेर अंगले काम गर्न छाड्ने र मृत्यु हुने जोखिम हुन्छ ।
सरकारले परीक्षण किट, एन्टिबायोटिक तथा स्वास्थ्यकर्मीको तालिमको व्यवस्था गरिरहेको छ । हाल प्रभावकारी नियमित खोप उपलब्ध नभएकाले संक्रमित माइटको टोकाइबाट बच्नु मुख्य उपाय हो । खेतवारी वा झाडीमा काम गर्दा शरीर ढाक्ने कपडा र जुत्ता लगाउने, घाँसमा सिधै नबस्ने, माइट भगाउने पदार्थ प्रयोग गर्ने तथा कामपछि शरीर सफा गर्ने सावधानी अपनाउनुपर्छ ।











प्रतिक्रिया