मुक्तिनाथ विकास बैंकको नयाँ डिजिटल सेवा, अब घरमै बसेर कर्जा आवेदनको अवस्था हेर्न सकिने


काठमाडौं ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई सहज, छिटो र पारदर्शी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कर्जा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ (Loan Application Tracking) सेवा सुरु गरेसँगै अब ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकका अनुसार यस सेवामार्फत ग्राहकले आफ्नो कर्जा आवेदनको अवस्था, कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रियाको प्रगति र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेटहरू जुनसुकै समय र स्थानबाट हेर्न सक्नेछन् ।

यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर र लोन एप्लिकेसन ट्र्याकिङ आईडी प्रयोग गरी कर्जा आवेदनको अवस्था हेर्न सक्ने व्यवस्था गरिएको छ ।

ग्राहकले कर्जा आवेदनको प्रगतिबारे जानकारी लिन शाखा कार्यालयमा पुग्नुपर्ने वा फोनमार्फत सम्पर्क गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

ग्राहक सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले डिजिटल रूपान्तरण र निरन्तर नवप्रवर्तनमार्फत आफ्ना सेवा, प्रक्रिया तथा ग्राहक अनुभवलाई थप सरल, प्रभावकारी र ग्राहकमैत्री बनाउँदै आएको छ ।

नयाँ सेवाले ग्राहकको समय बचत गर्नुका साथै बैंकिङ प्रक्रियामा पारदर्शिता बढाउने, सूचनामा सहज पहुँच स्थापित गर्ने र ग्राहकको विश्वास अभिवृद्धि गर्ने अपेक्षा बैंकले गरेको छ ।