काभ्रेको ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा, कोठामा भेटिए ठूलो संख्यामा ल्यापटप र मोबाइल


काठमाडौँ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ३ बजे प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको संयुक्त टोलीले रिसोर्टमा चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा ३१ जना पुरुष र पाँच जना महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ल्याइएको प्रहरीले जनाएको छ ।

रिसोर्टमा चेकजाँच गर्ने क्रममा दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत फेला परेको छ । ती विद्युतीय उपकरणहरू के प्रयोजनका लागि प्रयोग भइरहेका थिए भन्ने विषयमा भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

घटनास्थल प्रहरी चौकी पाँचखालबाट करिब तीन किलोमिटर पूर्वमा पर्दछ । नियन्त्रणमा लिइएका चिनियाँ नागरिक तथा बरामद भएका विद्युतीय उपकरणका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।