काठमाडौँ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो २ बजे जनकपुरबाट काठमाडौं आउँदै गरेको मधेस प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित १४ जना घाइते भएका छन् । घाइते सबैलाई उद्धार गरी उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये नौ जनाको पहिचान खुलेको छ भने अन्य पाँच जनाको विवरण खुल्न बाँकी रहेको छ ।
पहिचान खुलेका घाइतेहरूमा धनुषाको शहीदनगर नगरपालिका–८ का माइक्रोबस चालक दीपक कुमार दास, शहीदनगर नगरपालिका–७ की १७ वर्षीया रानी कुमारी मण्डल, शहीदनगर नगरपालिका–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन् ।
त्यस्तै, ललितपुरको भैँसेपाटी निवासी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि दुर्घटनामा घाइते भएका छन् ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो ।
घाइते बाँकी पाँच जनाको पहिचान खुलाउने कार्य भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया