नबिल बैंक सर्वाधिक कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित


काठमाडौं ।

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रतर्फ आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । नेपाल सरकारबाट नवौं पटक यो सम्मान प्राप्त गर्न सफल भएसँगै बैंकले राष्ट्रिय राजस्वमा पुर्‍याउँदै आएको योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर तिरेको जनाएको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा बैंकले ३ अर्ब ६० करोड रुपैयाँ आयकर बुझाएको थियो ।

राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । बैंकका सञ्चालक समितिका अध्यक्ष निरवाण कुमार चौधरीले बैंकका तर्फबाट उक्त सम्मान ग्रहण गर्नुभएको हो ।

सम्मान ग्रहणपछि अध्यक्ष चौधरीले यो उपलब्धि नबिल परिवारका सम्पूर्ण सदस्यका लागि गर्वको विषय भएको बताउनुभयो । उहाँले बैंकका कर्मचारीको समर्पण र ग्राहकले देखाएको विश्वासको प्रतिफलस्वरूप सम्मान प्राप्त भएको उल्लेख गर्नुभयो ।

उहाँले करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई बैंकले गम्भीरतापूर्वक लिएको बताउँदै उत्कृष्ट ग्राहक सेवा, जिम्मेवार व्यावसायिक अभ्यास र नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैंकले तिर्दै आएको करले व्यावसायिक कार्यसम्पादनसँगै मुलुकको आर्थिक तथा सामाजिक विकासप्रतिको जिम्मेवारीसमेत प्रतिबिम्बित गर्ने जनाएको छ । पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैंकिङ सेवा र ग्राहकको विश्वासलाई दीर्घकालीन विकासको आधारका रूपमा लिँदै आएको बैंकले जनाएको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न क्षेत्रका करदाता तथा संस्थालाई सम्मान गर्दै आएको छ ।

चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिल बैंकले नवीनतम सेवा तथा प्रविधिको प्रयोगमार्फत बैंकिङ सेवालाई सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ । दिगो बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्न ‘एनबैंक’ सेवा पनि सञ्चालनमा ल्याएको छ ।

हाल बैंकले देशभरका २६१ शाखा, १७ एक्सटेन्सन काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालासँग सहकार्य गर्दै आर्थिक अवसर विस्तार र नेपालको समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता बैंकले पुनः व्यक्त गरेको छ ।