पर्यटन क्षेत्रका संस्थाहरू मिलेर ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने प्रस्ताव


काठमाडौं।

नेपालको पर्यटन क्षेत्रका प्रमुख संघ–संस्थाहरूलाई समेटेर साझा छाता संस्थाका रूपमा ‘नेपाल पर्यटन महासंघ’ गठन गर्ने प्रस्ताव अघि बढाइएको छ।

नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन (TAAN) का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा आइतबार काठमाडौंको पकनाजोलस्थित होटल मूनलाइटमा आयोजित ‘प्रेसिडेन्सियल ब्रेकफास्ट मिटिङ’मा पर्यटन क्षेत्रका समसामयिक समस्या, संस्थागत सुधार र निजी क्षेत्रका साझा एजेन्डामाथि छलफल गर्दै यस्तो प्रस्ताव अघि बढाइएको हो।

बैठकमा होटल एसोसिएसन अफ नेपाल (HAN), TAAN, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA), नेपाल पर्वतारोहण संघ (NMA), एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपाल, NARA, नेपाल स्की एसोसिएसन, नेपाल पर्यटन बोर्ड, PATA नेपाल च्याप्टर तथा एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपाल (AOAN) लगायत पर्यटन क्षेत्रका विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए।

बैठकले विद्यमान संघ–संस्थाको भूमिका विस्थापित नगरी साझा राष्ट्रिय पर्यटन मुद्दामा एकीकृत आवाज, समन्वय र सहकार्यका लागि ‘नेपाल पर्यटन महासंघ’ गठनको पहल अघि बढाउने विषयमा सहमति जनाएको छ। ‘One Team, One Vision, One Voice’ अवधारणाअनुसार पर्यटन क्षेत्रका साझा समस्या पहिचान गरी सरकार तथा सम्बन्धित निकायसँग संस्थागत रूपमा संवाद र संयुक्त पहल गर्नेमा पनि सहभागीहरू सहमत भएका छन्।

बैठकले हालैको बाढी तथा विपद्का कारण प्रभावित पर्यटनकर्मीको खोज, उद्धार, राहत तथा दीर्घकालीन सहयोगमा जोड दिएको छ। मृतक तथा बेपत्ता पर्यटनकर्मीका परिवार र बालबालिकाको शिक्षा–दीक्षाका लागि दीर्घकालीन सहयोग आवश्यक रहेको भन्दै सम्बन्धित कोष तथा संस्थागत संयन्त्रमार्फत सहयोग जुटाउन निजी क्षेत्रले पहल गर्ने जनाएको छ।

त्यस्तै, भदौ १० को विपद्मा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा अन्तर्राष्ट्रिय स्मारक पार्क निर्माण गर्न नेपाल सरकारसँग आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ। भविष्यमा यस्ता विपद्का बेला पर्यटनकर्मीको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि दीर्घकालीन ‘Tourism Sector Crisis Management and Rescue Mechanism’ आवश्यक रहेको बैठकको निष्कर्ष छ।

पर्यटन बोर्ड पुनर्संरचनाको माग
बैठकमा नेपाल पर्यटन बोर्डको बजेट तथा कार्यक्रमप्रति पनि निजी क्षेत्रले चासो व्यक्त गरेको छ। पर्यटन प्रवर्द्धनको बजेटलाई बजार अनुसन्धान, अन्तर्राष्ट्रिय मार्केटिङ, डिजिटल तथा एआई प्रविधिको प्रयोग, नयाँ पर्यटक बजार विस्तार र नयाँ गन्तव्य विकाससँग जोडेर परिणाममुखी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा प्रमुख निजी क्षेत्रका पर्यटन संस्थाहरूको संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने मागसमेत बैठकले अघि सारेको छ। बोर्डको वर्तमान संरचना र कार्यशैलीलाई थप प्रभावकारी, व्यावसायिक, जवाफदेही र परिणाममुखी बनाउन पुनर्संरचना आवश्यक रहेको बैठकको निष्कर्ष छ।

बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्दा राजनीतिक पहुँचभन्दा पर्यटन क्षेत्रको ज्ञान, अनुभव, नेतृत्व क्षमता, व्यावसायिक दक्षता, इमानदारी र स्पष्ट कार्ययोजनालाई आधार बनाउन सरकारलाई आग्रह गरिएको छ।

नेपाल एयरलाइन्स सुधारमा जोड
बैठकले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो संस्थाका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिएको छ।

व्यावसायिक व्यवस्थापन, सक्षम नेतृत्व, स्पष्ट बजार तथा रुट रणनीति र जहाज व्यवस्थापनमा सुधार गर्दै आवश्यकताअनुसार सार्वजनिक–निजी साझेदारी (PPP) मोडलको सम्भावनाबारे अध्ययन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको छ।

यस्तै, सरकारले तयारी गरिरहेको नयाँ पर्यटन ऐनलाई व्यावहारिक, समावेशी, लगानीमैत्री, सुरक्षित र दिगो पर्यटन विकास सुनिश्चित गर्ने गरी निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

पर्यटन क्षेत्रका विभिन्न उपक्षेत्रका साझा समस्या र सम्भावनालाई एउटै राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउन सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

बैठकले अब पर्यटन क्षेत्रका संस्थाहरूले छुट्टाछुट्टै आवाजभन्दा साझा राष्ट्रिय एजेन्डाका साथ अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै प्रस्तावित नेपाल पर्यटन महासंघ, पर्यटन बोर्डको पुनर्संरचना, नेपाल एयरलाइन्स सुधार, नयाँ पर्यटन ऐन तथा विपद् प्रभावित पर्यटनकर्मीको राहतका विषयमा सम्बन्धित निकायसँग संवाद र सहकार्यलाई निरन्तरता दिने निर्णय गरेको छ।