शैक्षिक धरोहर प्रा.डा. सुरेशराज शर्मा र उहाँले छोडेको विरासत

0
Shares

प्रा.डा. सुरेशराज शर्मा शिक्षा क्षेत्रका एक होनहार व्यक्तित्व मात्र नभई संस्था निर्माण गर्न सक्ने दूरदर्शी, कठिन परिस्थितिमा पनि विवेक र धैर्यका साथ निर्णय लिन सक्ने प्रशासक तथा समाजका अप्ठ्यारामा आफैँ उपस्थित भएर वा प्रतिनिधि पठाएर समाधान खोज्ने अभिभावक हुनुहुन्थ्यो । उहाँको निधनले नेपालले एउटा शैक्षिक धरोहर गुमाएको छ भने काठमाडौँ विश्वविद्यालयले आफ्नो संस्थापक नेतृत्व गुमाएको छ ।

उहाँको निधनको खबर सुन्दा मनमा उठेको पीडा शब्दमा व्यक्त गर्न कठिन छ । उहाँको अन्तिम बिदाइमा काठमाडौं विश्वविद्यालय मेनेजमेन्ट कलेज ललितपुरमा यही असोज ८ गते श्रद्धाञ्जलि सभामा सहभागी हुन पुगेका शुभेच्छुकको भीड, झमझम परेको पानीका बाबजुद आर्यघाटमा उपस्थित जनसमुदाय र बानेश्वरस्थित थापागाउँको निवासमा ओइरिएका शुभचिन्तकहरुले उहाँप्रति समाजले राखेको सम्मान र विश्वास प्रकट गरिरहेका थिए । राज्यले राष्ट्रिय झन्डा ओढाएर दिएको सम्मान डा. शर्माले जीवनभर शिक्षाका क्षेत्रमा गरेको योगदानको सार्वजनिक स्वीकारोक्ति पनि हो । तर उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि औपचारिक सम्मानमा मात्र सीमित हुनुहुँदैन, उहाँले निर्माण गरेको काठमाडौँ विश्वविद्यालयको शैक्षिक गुणस्तर, स्वायत्तता र साख जोगाउनु नै उहाँप्रतिको दीर्घकालीन सम्मान हुनेछ ।

सिन्धुलीको खुर्कोटमा जन्मनुभएका डा. शर्मा रसायनशास्त्रका प्राध्यापकदेखि शिक्षा नीति निर्माण र उच्च शैक्षिक प्रशासनसम्म सक्रिय रहनुभयो । उहाँ त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत रहनुभयो । त्यसपछि राष्ट्रिय शिक्षा समिति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लगायतका संस्थामा जिम्मेवारी सम्हाल्नुभयो । सीटीईभीटीको पहिलो कार्यकारी निर्देशकका रूपमा उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षाको संस्थागत विकासमा योगदान दिनुभयो । काठमाडौँ विश्वविद्यालयको संस्थापक उपकुलपति बन्नुअघि उहाँले शिक्षा प्रशासन र नीतिगत क्षेत्रमा हासिल गरेको अनुभव नै विश्वविद्यालय निर्माणको आधार बन्यो ।

नेपालमा उच्च शिक्षाको पहुँच र गुणस्तरका विषयमा नयाँ सोच आवश्यक भइरहेका बेला काठमाडौँ विश्वविद्यालयको परिकल्पना र स्थापना भएको थियो । २०४८ सालमा संसद्बाट काठमाडौँ विश्वविद्यालय ऐन पारित भएपछि विश्वविद्यालय स्थापना भयो । सन् १९८५ मा स्थापित काठमाडौँ भ्याली क्याम्पसबाट शुरु भएको शैक्षिक यात्राले सन् १९९१ मा विश्वविद्यालयको स्वरूप लियो । सन् १९९२ मा आफ्नै आईएस्सी कार्यक्रम शुरु भयो भने सन् १९९४ मा इन्जिनियरिङ, फार्मेसी र वातावरण विज्ञानलगायतका स्नातक कार्यक्रम सञ्चालनमा आए । सन् १९९५ मा धुलिखेलमा विश्वविद्यालयको उद्घाटन तथा पहिलो दीक्षान्त समारोह सम्पन्न भयो ।

यो इतिहास केवल एउटा शैक्षिक संस्थाको स्थापना कथा होइन, सीमित स्रोत र चुनौतीका बीच देशभित्रै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन सकिन्छ भन्ने विश्वास निर्माण भएको यात्रा हो । डा. शर्माको नेतृत्वमा काठमाडौँ विश्वविद्यालयले नियमित शैक्षिक पात्रो, गुणस्तरीय अध्यापन, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र विद्यार्थीमैत्री वातावरणलाई आफ्नो पहिचान बनाउँदै गयो । उहाँले दुई दशकभन्दा बढी समय संस्थापक उपकुलपतिका रूपमा नेतृत्व गर्नुभयो । विश्वविद्यालयको आधिकारिक अभिलेखअनुसार उहाँको कार्यकाल सन् १९९१ डिसेम्बर ३० देखि २०१२ डिसेम्बर ११ सम्म रहेको थियो ।

काठमाडौँ विश्वविद्यालयको स्थापनाले उच्च शिक्षाका लागि विदेश जानुपर्ने बाध्यतामाथि पनि प्रश्न उठायो । नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास बढ्दै गयो । नेपाली विद्यार्थीका लागि मात्र होइन, विदेशी विद्यार्थीका लागि समेत नेपाल उच्च शिक्षाको गन्तव्य बन्न सक्ने सम्भावना उहाँले देखाउनुभयो । शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, कलकारखाना तथा स्वरोजगारका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसँग विश्वविद्यालयको शैक्षिक कार्यक्रम जोडिँदै गयो । विद्यार्थीलाई प्रमाणपत्र मात्र होइन, ज्ञान, सीप र व्यावहारिक क्षमता दिनुपर्छ भन्ने उहाँको सोचले संस्थाको शैक्षिक संस्कार निर्माण ग¥यो ।

म उहाँलाई रोटरी क्लब अफ धुलिखेलका संस्थापकका रूपमा पनि सम्झन्छु । उहाँ संस्थापक रहनुभएको क्लबमा सदस्य भएर उहाँसँग नजिकबाट सिक्ने अवसर मैले पनि पाएँ । समाजमा समस्या पर्दा उहाँ टाढाबाट सल्लाह मात्र दिने व्यक्तित्व हुनुहुन्नथ्यो । आवश्यक परे आफैँ उपस्थित हुने, नसके प्रतिनिधि पठाउने र समस्यालाई बुद्धिमतापूर्ण ढंगले समाधान गर्ने उहाँको स्वभाव थियो । उहाँको सद्भाव र व्यवहारले मानिसलाई पदभन्दा पनि काम, विचार र जिम्मेवारीबाट सम्मान कमाउनुपर्छ भन्ने पाठ सिकाउँथ्यो । कामना न्यूज पब्लिकेशन्स प्रा.लि.का संस्थापक स्व. पुष्करलाल श्रेष्ठप्रति डा. शर्माको विशेष सम्मान थियो । डा. शर्माले उहाँलाई नेपाली पत्रकारिताको अग्रणी व्यक्तित्वका रूपमा हेर्नुहुन्थ्यो । काठमाडौँ विश्वविद्यालयको उपकुलपति रहँदा करिब १५ वर्षसम्म उहाँ र स्व. श्रेष्ठबीच निरन्तर सहकार्य भएको मेरो बुझाइ छ । नेपाल समाचारपत्रमा प्रकाशित उहाँका लेख–रचनाले विश्वविद्यालयभित्रका विषय मात्र होइन, देशको शिक्षा विकासप्रतिको चिन्ता र दृष्टिकोण पनि सार्वजनिक बहसमा ल्याउँथे । आज नेपाल समाचारपत्रले एक शुभचिन्तक र नियमित पाठक गुमाएको छ ।

डा. शर्माको नेतृत्वको एउटा महत्वपूर्ण पक्ष विश्वविद्यालयलाई दलीय राजनीतिक हस्तक्षेपबाट जोगाउने उकाँको अडान थियो । उहाँको मान्यता शैक्षिक संस्थामा राजनीतिक दलका भ्रातृ संगठनको प्रत्यक्ष प्रभाव हुनुहुँदैन भन्ने थियो । विद्यार्थी र शिक्षकका संगठनलाई विश्वविद्यालयभित्र प्रवेश नदिने उहाँको नीतिका कारण विभिन्न समयमा राजनीतिक दबाब, तालाबन्दी र विवादको सामना गर्नुपरेको कुरा उहाँसँग नजिक रहेकाहरूले स्मरण गर्छन् । उहाँले ती दबाबका बीच पनि संस्थाको शैक्षिक उद्देश्य र स्वायत्ततालाई प्राथमिकता दिनुभयो । उहाँको अडानसँग सबै सहमत थिए वा थिएनन् भन्ने बहस अलग विषय हो; तर विश्वविद्यालयको शैक्षिक वातावरणलाई दलीय प्रतिस्पर्धाबाट टाढा राख्ने प्रश्न आज पनि उत्तिकै महत्वपूर्ण छ । उहाँको नेतृत्वमा बनेको शैक्षिक प्रतिष्ठानका कारण विद्यार्थीको आकर्षण बढ्यो । प्रवेश परीक्षामा ठूलो प्रतिस्पर्धा हुने र सीमित सिटका लागि धेरै विद्यार्थी सहभागी हुने अवस्था बनेको हामीले देख्यौँ । कडा छनोट प्रक्रियाबाट भर्ना भएका विद्यार्थीले गुणस्तरीय शिक्षा र व्यावहारिक सीप हासिल गरी स्वदेश तथा विदेशमा आफ्नो क्षमता देखाउन सके ।

आज उहाँ हामीमाझ हुनुहुन्न । उहाँले निर्माण गरेको विश्वविद्यालय भने देशकै महत्वपूर्ण शैक्षिक संस्थाका रूपमा अघि बढ्नुपर्ने दायित्व बोकेर उभिएको छ । तर संस्थापकले निर्माण गरेको साख र गुणस्तर आफैँ टिकिरहने वस्तु होइन । त्यसलाई जोगाउन नेतृत्वको इमानदारी, शैक्षिक स्वायत्तता, योग्य जनशक्ति, अनुसन्धानमुखी वातावरण र राजनीतिक हस्तक्षेपबाट संस्थालाई मुक्त राख्ने प्रतिबद्धता चाहिन्छ । विश्वविद्यालयको नेतृत्व छनोटमा योग्यता, अनुभव र संस्थाप्रतिको दृष्टिकोणभन्दा बाह्य स्वार्थ हाबी भएमा त्यसको असर विद्यार्थी, शिक्षक, कर्मचारी र समग्र शैक्षिक प्रतिष्ठामा पर्छ । डा. शर्माले काठमाडौँ विश्वविद्यालयलाई केवल भवन र कार्यक्रमको विस्तारका रूपमा हेर्नुभएन, उहाँले संस्थाको चरित्र निर्माण गर्नुभयो । आज सरकार, विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी र नागरिक समाज सबैले त्यस चरित्रको संरक्षणबारे गम्भीर भएर सोच्नुपर्ने समय आएको छ । विश्वविद्यालयलाई राजनीतिक भागवण्डा, स्वार्थ समूहको दबाब र क्षणिक लाभको प्रतिस्पर्धाबाट जोगाउनु राज्यको दायित्व हो । शैक्षिक संस्थाको स्वायत्तता भनेको सरकार वा समाजप्रति जवाफदेही नहुनु होइन; यसको अर्थ शैक्षिक निर्णय प्रमाण, क्षमता र संस्थाको हितका आधारमा हुनु हो ।

राज्यका प्रमुख निकायमा उहाँको अभाव खड्किनु स्वाभाविक हो । तर उहाँको अभावलाई केवल सम्झनामा सीमित राखेर हुँदैन । सरकारले काठमाडौँ विश्वविद्यालयको ऐतिहासिक योगदान, वर्तमान अवस्था र भावी चुनौतीलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ । गुणस्तरीय शिक्षा, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिँदै विश्वविद्यालयको स्वायत्तता र प्रतिष्ठा जोगाउने ठोस नीति आवश्यक छ । संस्थापकको योगदानको सम्मान उहाँको नाममा कार्यक्रम आयोजना गरेर मात्र होइन, उहाँले स्थापना गरेको मूल्य र शैक्षिक संस्कारलाई निरन्तरता दिएर गर्नुपर्छ । काठमाडौं विश्वविद्यालय र प्रा.डा. सुरेशराज शर्माकै छत्रछायामा रहेर धुलिखेल अस्पतालले कमाएको ख्याती पनि यो देशको अविष्मरणीय छाप हो । यदि प्रा.डा. शर्माले शिक्षण अस्पतालका रुपमा विकास गर्ने निर्णय गर्नुभएको थिएन भने अस्पतालको दायरा यति फराकिलो हुन सजिलो थिएन । धुलिखेल विकासका लागि त्रिमूर्ति प्रा.डा. सुरेशराज शर्मा, धुलिखेल नगरपालिकाका संस्थापक मेयर बेलप्रसाद श्रेष्ठ र धुलिखेल अस्पतालका संस्थापक तथा काठमाडौं विश्व विद्यालयका पूर्वउपकुलपति डा. रामकण्ठ माकजू श्रेष्ठको बोली एवं विचार निःस्वार्थ भएकै कारण धुलिखेलले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, स्वच्छ पिउने पानीका लागि हातेमालो गर्न सफल भएको हो ।

डा. सुरेशराज शर्मा एक शैक्षिक धरोहर, एक असल अभिभावक र समाजप्रति उत्तरदायी नेतृत्वको उदाहरण हुनुहुन्थ्यो । उहाँको निधनले नेपाल समाचारपत्रले शुभचिन्तक पाठक गुमाएको छ, रोटरी क्लब अफ धुलिखेलले संस्थापक गुमाएको छ, काठमाडौँ विश्वविद्यालयले आफ्नो मार्गदर्शक गुमाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जलि ! उहाँले पुनर्जन्म लिनुहुन्छ भने यही नेपालमा जन्म होस् र फेरि पनि शिक्षा विकासकै क्षेत्रमा समर्पित हुने अवसर मिलोस्, यही कामना छ । प्रा.डा. शर्माले छोडेर जानुभएको जिम्मेवारी पूरा गर्ने काम अब हाम्रो काँधमा आएको छ । काठमाडौँ विश्वविद्यालयको गुणस्तर, स्वायत्तता र साख जोगाउन सरकार एवं विश्वविद्यालय परिवारले समयमै गम्भीर कदम चाल्न सकेमा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।