देवनागरीको जगदेखि जापानको साक्षरता दूतसम्म: अदिति पौडेलको लोभलाग्दो यात्रा

0
Shares

जीवनका सबैभन्दा सुन्दर र दूरगामी क्रान्तिहरू प्रायः साना र अव्यक्त अनुभवहरूबाटै सुरु हुन्छन् । जन्मले जापानको प्रविधिमय आधुनिकता र बाल्यकालको केही ऊर्जावान् समय नेपालको सांस्कृतिक आँगनमा बिताएकी १७ वर्षीया नेपाली किशोरी अदिति पौडेलको कथा पनि यस्तै एउटा अद्भुत र प्रेरणादायी यात्रा हो । अझै प्रिस्कुलकै कलिलो उमेरमा हुँदा, जब धेरैजसो बालबालिकाहरू खेलौनामै रमाउँथे, अदितिका हजुरबुवाले उनको हातमा जटिल देवनागरी लिपिमा छापिएको नेपाली पत्रिका राखिदिनुभयो । सबैलाई लाग्थ्यो, ती साना अक्षरहरू एउटा बालिकाका लागि केवल अस्पष्ट आकृति मात्र हुनेछन् । तर, सबैलाई आश्चर्यचकित पार्दै अदितिले ती शब्दहरू सजिलै बुझेर वाचन गरिन् । त्यो क्षण केवल एउटा सानो बालिकाको प्रतिभाको प्रदर्शन मात्र थिएन, उनको भित्री चेतना, असीम जिज्ञासा र शब्दहरूप्रतिको कहिल्यै नसकिने प्रेमको सुखद बिजारोपण थियो । टोकियोको एउटा उच्च विद्यालयको अन्तिम वर्षमा अध्ययनरत तिनै अदिति आज संसारभरि आफ्ना भावना र सोचको अमिट छाप छाड्दै जापानकै इतिहासमा पहिलो ‘लिट्रेसी एम्बेसडर’ अर्थात साक्षरता दूत का रूपमा विश्वमञ्चमा उभिन सफल भएकी छन् ।

विश्वका १०१ भन्दा बढी देशका करिब ९०० योग्य तथा ऊर्जावान् युवाहरूमाझबाट अस्ट्रेलियामा मुख्यालय रहेको प्रतिष्ठित संस्था ‘वल्र्ड लिटरेसी फाउन्डेसन’ ले अदितिलाई यो ऐतिहासिक जिम्मेवारी सुम्पिएको हो । विगत १२ वर्षदेखि सञ्चालित यस वैश्विक कार्यक्रममा जापानबाट कसैलाई दूत चयन गरिएको यो नै पहिलो पटक हो । अदितिको अद्भुत नेतृत्व क्षमता, साक्षरताप्रतिको अगाध समर्पण र युवा पुस्तालाई सशक्त बनाउने उनको दृढ प्रतिबद्धताले नै उनलाई संसारभरका प्रतिस्पर्धीहरूमाझ अद्वितीय बनायो । फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत एन्ड्र्यु केका अभिब्यक्ति अनुसार, अंग्रेजी भाषाप्रतिको उनको गहिरो जिज्ञासा र विचारशील वकालतले साक्षरता अभियानको विश्वव्यापी आवाजलाई थप फराकिलो र समावेशी बनाएको छ । तर, यो सफलता अदितिका लागि सजिलै प्राप्त भएको थिएन । तेस्रो कक्षामा अध्ययन गर्न जापान फर्कँदा उनले भाषा र परिवेशको ठूलो चुनौती सामना गर्नुप¥यो । नयाँ जीवन शैलीमा घुलमिल हुनुका साथै भुुलिसकेको जापानी भाषालाई पुनः शून्यबाट सिक्नुपर्ने बाध्यता उनका अगाडि थियो । त्यो कठिन मोडमा उनले अरू केहीलाई होइन, पुस्तकहरूलाई नै आफ्नो सबैभन्दा बलियो साथी र मार्गदर्शक बनाइन् ।

पुस्तकहरूसँगको यो घनिष्ठताले उनलाई काल्पनिक दुनियाँमा मात्र उडाएन, संसारलाई हेर्ने एउटा नयाँ र फराकिलो दृष्टिकोण पनि दियो । सानैमा इनिड ब्लाइटनको ‘द विशिङ–चेयर’ पढ्दा आफू स्वयम् त्यो जादुई कुर्सीसँगै उडिरहेको आभास गर्ने अदिति, पछि मलाला युसुफजाईको बहुचर्चित आत्मकथा ‘आई एम मलाला’ सम्म आइपुग्दा महिला शिक्षा, साक्षरता र अधिकारको गम्भीर मुद्दामा संवेदनशील बन्न पुगिन् । मलालाको जीवन गाथाले अदितिको हृदयलाई यसरी छोयो कि उनले साक्षरतालाई केवल शब्द चिन्ने वा लेख्न–पढ्न जान्ने साधारण ज्ञानका रूपमा हेर्न छाडिदिइन् । उनका अनुसार साक्षरता त त्यो अद्भूत साँचो हो, जसले मानिसको भित्री क्षमतालाई प्रस्फुटित गराउँदै जीवनमा असङ्ख्य नयाँ अवसर र सम्भावनाका ढोकाहरू एकपछि अर्को गर्दै खोलिदिन्छ । आफ्ना आमाबुबाले भोगेको अभावपूर्ण बाल्यकाल र आफूले पाएको गुणस्तरीय शिक्षाको अन्तरलाई नजिकबाट महसुस गरेकी अदितिलाई ज्ञानको यो प्रकाश सबैसमक्ष पु¥याउनुपर्छ भन्ने गहिरो बोध भयो ।

अदितिको यो दृष्टि झन् महत्वपूर्ण बन्छ जब हामी संसारका दुई फरक यथार्थलाई दाँजेर हेर्छौँ । एकातिर जापानमा साक्षरता दर करिब ९९ प्रतिशत छ, जहाँ भौतिक विकास चरम विन्दुमा छ । अर्कातिर, अदितिको जरा जोडिएको नेपालमा भने साक्षरता दर अझै ७६ प्रतिशतको हाराहारीमा सीमित छ, जसमा पुरुष र महिलाबीच ठूलो खाडल छ । पुरुषको साक्षरता दर ८४ प्रतिशत रहँदा महिलाको साक्षरता दर केवल ६९ प्रतिशत मात्र छ । यसै सामाजिक यथार्थलाई हृदयङ्गम गर्दै अदितिले शारीरिक वा मानसिक रूपमा अपाङ्गता भएका बालबालिकाहरूसँग काम गर्नुका साथै ‘शान्ति स्वयंसेवक संघ’ सँग सहकार्य गरेर नेपाल लगायत कम साक्षरता दर भएका एसियाली मुलुकहरूमा पुस्तकहरू संकलन र वितरण गर्ने बृहत् अभियानको रूपरेखा तैयार पारेकी छन् । उनी स्पष्ट भन्ने गर्छिन,“तपाईंसँग जतिसुकै धेरै सम्भावना र प्रतिभा भए पनि, यदि तपाईं साक्षर हुनुहुन्न भने त्यो सम्भावनाको ढोका कहिल्यै खुल्न सक्दैन ।”

यद्यपि, आजको आधुनिक र डिजिटल युगमा साक्षरताको यो लडाइँ अझ जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । धनी र विकसित भनिएका देशहरूमा समेत पुस्तक पढ्ने संस्कृति तीव्र रूपमा घट्दै गइरहेको छ । हालै टोकियो विश्वविद्यालय र बेनेसे एजुकेशनल रिसर्चले गरेको अध्ययन अनुसार जापानका प्राथमिक र माध्यमिक तहका आधाभन्दा बढी विद्यार्थीहरू कुनै पनि पुस्तक पढ्दैनन् । मानिसहरू सामाजिक सञ्जाल र स्मार्टफोनको छोटो आकर्षणमा यति धेरै अल्झिएका छन् कि एउटा गम्भीर पुस्तकमा घन्टौँसम्म हराउनु वा सोचलाई गहिरो बनाएर पढ्नु आज दुर्लभ बन्दै गएको छ । अझ ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) जस्ता प्रविधिको तीव्र विकासले मानिसलाई खोज, अनुसन्धान र विचारको जटिल मन्थनबिना नै तयारी उत्तरहरू पस्कने काम गरिरहेको छ । वल्र्ड लिटरेसी फाउन्डेसनका एन्ड्र्यु के चेतावनी दिन्छन् कि पुस्तक पढ्ने यो बानी छुट्दै जानु भनेको मानव सभ्यतालाई १५० वर्ष पछाडि धकेल्नु जस्तै हो, जहाँ मानिसहरूमा पढ्ने र विचार गर्ने क्षमता अत्यन्तै सीमित थियो ।

यस्तो अलमल र प्रविधिको भुलभुलैयाले भरिएको आधुनिक समयमा १७ वर्षीया अदितिको सन्देश एउटा उज्यालो प्रकाशपुञ्ज बनेर आएको छ । एउटा सामान्य किशोरीका रूपमा फोन र सञ्जालको आकर्षण कति बलियो हुन्छ भन्ने कुरा उनले राम्ररी बुझेकी छन्, तर त्यसैले गर्दा पढ्ने बानीलाई एउटा अनुशासन र संस्कारका रूपमा विकास गर्नु अझ बढी आवश्यक भएको उनको ठम्याइ छ । पढ्नु भनेको केवल कुनै ठूला र गम्भीर किताबहरूको सूची सिध्याउनु मात्र होइन, आफ्नो मनलाई छुने, आत्मालाई स्पर्श गर्ने र सोचलाई विशाल बनाउने माध्यम भेट्टाउनु पनि हो । “पढाइ अति नै आनन्ददायी कार्य हो, यसले असीम ज्ञान मात्र दिँदैन, विचारको नयाँ सञ्जाल र एउटा ताजा सोच पनि प्रदान गर्छ,” अदिति भन्ने गर्छिन । बाल्यकालमा हजुरबुवाले हातमा थमाइदिएको देवनागरी पत्रिकाका अक्षरहरूबाट सुरु भएको अदितिको यो यात्रा आज विश्वका लाखौँ बालबालिकाका लागि प्रेरणाको स्रोत बनेको छ । १७ वर्षकै कलिलो उमेरमा उनले संसारलाई दिएको यो शक्तिशाली सन्देशले प्रस्ट पार्छ कि पढ्ने बानीले ज्ञानको दायरा मात्र बढाउँदैन, यसले त विश्वलाई बदल्ने ढोकाहरूसमेत खोलिदिन्छ ।