प्रिटोरियसले गेलको रेकर्ड तोडे


लन्डन, (एजेन्सी) ।

दक्षिण अफ्रिकाका २० वर्षीय ब्याटर लुआन–ड्रे प्रिटोरियसले क्रिस गेलको १३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले पुरुष टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने नयाँ विश्व कीर्तिमान रचेका हुन् ।

दक्षिण अफ्रिकाको घरेलु प्रतियोगिता सीएसए टी–२० च्यालेन्जअन्तर्गत ब्लुमफोन्टेनमा नाइट्सविरुद्धको खेलमा प्रिटोरियसले ७९ बलमा १ सय ८८ रन बनाएर गेलको रेकर्ड तोडेका हुन् । टाइटनका लागि खेलेका उनले नटआउट रहँदैं १५ चौका र १३ छक्का प्रहार गरेका थिए ।

यसअघि मान्यताप्राप्त टी–२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत उच्चतम रनको कीर्तिमान वेस्ट इन्डिजका पूर्व ब्याटर गेलको नाममा थियो । उनले सन् २०१३ को इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरका लागि पुणे वारियर्सविरुद्ध ६६ बलमा अविजित १ सय ७५ रन बनाएका थिए । उक्त इनिङ्समा उनले १३ चौका र १७ छक्का प्रहार गरेका थिए ।

२४ बलमा अर्धशतक पूरा गरेका प्रिटोरियसले अर्को ५० रन बनाउन १६ बलको मात्रै सामना गरे । यससँगै उनले ४० बलमै शतक बनाएका थिए । यसपछि उनले १८ बलमा ५० रन बटुल्दै ५८ बलमा १ सय ५० रन पार गरेका थिए ।

प्रिटोरियसको आक्रामक ब्याटिङमा टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६७ रन बनायो । यो सीएसए टी–२० च्यालेन्जको इतिहासमा कुनै पनि टोलीले बनाएको दोस्रो ठूलो स्कोर हो ।

प्रतियोगिताको सर्वाधिक स्कोर पनि टाइटन्सकै नाममा रहेको छ । टाइटन्सले सन् २०२२ को संस्करणमा ३ विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो । उक्त खेलमा डेवाल्ड ब्रेभिसले व्यक्तिगत १ सय ६२ रन बनाएका थिए ।

२०२६–२७ सिजनको सीएसए टी–२० च्यालेन्जमा यो प्रिटोरियसको पहिलो खेल थियो । उनले यसअघि आफ्ना पछिल्ला दुई खेलमा जिम्बाब्वे र नामिबियाविरुद्ध क्रमशः ९४ र १ सय १ रन बनाएका थिए ।