भुवनको विगत प्रेमकथा

अनमोलको बाटुलो जून


कुनै समय पर्दामा आफूले लोकप्रिय बनाएको प्रेमकथाको समयतिर निर्देशक भुवन केसी फेरि फर्किएका छन्। तर यसपटक पर्दाको केन्द्रमा उनी स्वयं होइनन्, उनका सुपरस्टार छोरा अनमोल केसी छन्। ३० को दशकको सामाजिक परिवेश र त्यतिबेलाको प्रेमलाई कथाको आधार बनाइएको फिल्म बाटुलो जूनको टिजर सार्वजनिक भएसँगै भुवनको निर्देशकीय यात्रामा नयाँ प्रयोग देखिएको छ।

भुवनले यसअघि निर्देशन गरेको फिल्म ड्रिम्समा उत्तरआधुनिक प्रेमकथालाई पर्दामा उतारेका थिए। बाटुलो जूनमा भने उनी त्यसभन्दा धेरै पछाडिको समयमा पुगेका छन्। नेपाली फिल्ममा भुवन केसी स्वयं पर्दामा देखिने यस्तै प्रेमकथाका लोकप्रिय अभिनेता रहेको समयलाई उनले यस फिल्ममार्फत नयाँ पुस्ताका लागि पुनः सिर्जना गर्ने प्रयास गरेका छन्। भुवनका अनुसार बाटुलो जून केवल पुरानो समयको कथा भन्ने फिल्म मात्र होइन, आप्mनै फिल्मी यात्रासँग पनि जोडिएको छ। आफूले अभिनय गरेका दशकअघिका प्रेमकथाको समय र संवेदनालाई सम्झ“दै उनले त्यही समयलाई नया“ पुस्ताका लागि पर्दामा पुनः सिर्जना गर्ने प्रयास गरेका हुन्।

३० को दशकमा आधारित फिल्ममा एउटा आदर्श प्रेमलाई केन्द्रमा राखिएको छ। त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई कथामार्फत पर्दामा उतार्ने प्रयास गरिएको छ। अहिलेको प्रविधिमैत्री युग र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक त्यो समयको प्रेम र समाजलाई फिल्मले कथानकमा समेटेको छ। अनमोलको मुख्य भूमिका रहेको फिल्ममा स्वयं भुवन केसी पनि महत्वपूर्ण भूमिकामा छन्। यही फिल्मबाट प्रिन्सी खतिवडाले अभिनयमा डेब्यु पाएकी छन्। बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि यही फिल्मबाट पुनरागमन गरेकी छन्।

सनराइज पिक्चरको ब्यानरमा जिया केसी र भविष्य खड्काद्वारा निर्मित फिल्मको टिजरले फिल्मको परिवेश र कथाका विभिन्न आयामको झलक मात्र प्रस्तुत गरेको छ। कथाको पूरा जानकारी नदिई टिजरले टिज गर्नुपर्ने मान्यतालाई आत्मसात गरेको निर्माण पक्षले जनाएको छ। टिजरमा फिल्मभित्र रहेका क्यान्डिड सटलाई समेत स्थान दिइएको छ। विवेक थापा सह–निर्माता रहेको फिल्ममा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन, राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पाश्र्व संगीत रहेको छ। फिल्म आगामी कार्तिक २६ गते रिलिजमा आउँदैछ।